


तनहुँ, ११ कात्तिक । सडक दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबार बिहानैदेखि पोखरा–मुग्लिङ सडकखण्डका तीन स्थानमा संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका हुन्।
बिहान ५ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा सवारी चालकलाई सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा जानकारी गराउँदै सचेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कार्यक्रमका क्रममा विभिन्न प्रकारका सवारीसाधनका चालकलाई लक्षित गरी सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको थियो। प्रहरीले दुईपाङ्ग्रे, चारपाङ्ग्रे साना तथा ठूला सवारीसाधनका चालकलाई सडकमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र जिम्मेवारीबारे जानकारी दिएको हो।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सचेतना कार्यक्रममा दुईपाङ्ग्रे ५८ वटा, चारपाङ्ग्रे साना ६३ वटा र ठूला ९६ वटा सवारीसाधनका चालकलाई सचेत गराइएको छ। यसअनुसार कार्यक्रममा कुल २१७ वटा सवारीसाधनका चालक सहभागी भएका छन्।