सांसदको दशैं भत्ता मिर्गौला पीडितलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसदको दशैं भत्ता मिर्गौला पीडितलाई

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैं भत्ता जिल्लाका मिर्गौला पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । संसद सचिवालय सांसदहरुलाई उपलब्ध गराएको दशैं खर्च बापतको रु ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गाैला पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

    सांसद श्रेष्ठका घोषणा बमोजिम व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६÷१६ हजार सहयोग गरिनेछ ।

    देश विषम् परिस्थिति र नागरिकहरु समस्याग्रस्त भएको अवस्थामा दशैं खर्च बापतको रकमको औचित्यको बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौला पीडितलाई दिने सांसद श्रेष्ठले बताउनुभयो । सांसदको रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहँु जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै सांसद श्रेष्ठले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ ।

    “अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण नागरिकहरु आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिकहरु आर्थिक कठिनाईमा परेको बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो,” सांसद श्रेष्ठले भन्नुभयो ।