दशैं आयाे, सँगै बिजुली पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    दशैं आयाे, सँगै बिजुली पनि

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, मंगलवार

    तनहुँ : दशैं शुरु भएसँगै तनहुँको घिरिङ गाउँपालिका–४ गलकोट र घिरिङ गाउँपालिका–५ भाटडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशी छाएको छ । लामो समयदेखि सोलार र टुकीको भरमा बस्दै आएका यहाँका स्थानीयवासी दशैं शुरु भएसँगै बिजुली बलेपछि हर्षित भएका हुन् ।

    घिरिङ गाउँपालिकाले ‘उज्यालो गाउँपालिका’ बनाउने लक्ष्यका साथ काम गरेपछि बिजुली नपुगेका ग्रामीण बस्तीहरुमा धमाधम विद्युत विस्तार भइरहेको छ । सोही अभियान अन्तर्गत गलकोट र भाटडाँडाका ४५ घरधुरीमा बत्ती बलेको छ ।

    घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले दशैं आएसँगै घरमा बत्ती बलेपछि खुशी लागेको बताउनुभयो । “दशंैको चहलपहल शुरु भएसँगै रौनकता छाएको बेला बत्ती बलेपछि गाउँ नै उज्ज्यालो भएको छ,” थापाले भन्नुभयो, “वर्षौदेखिको चाहना बल्ल पूरा भयो ।”

    स्थानीय दिपक थापाले विगत लामो समयदेखि बिजुलीको आशमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताउनुभयो । “बत्ती कहिले बल्ला भनेर लामो समय कु¥यौ, तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो,” उहाँले भन्नुभयो । स्थानीय पूर्णबहादुर थापा, आनबहादुर थापा, हिरासिं थापाले पनि बत्ती बलेपछि खुशीको सीमा नै नरहेको बताउनुभयो ।

    घिरिङ विद्युतीकरण उपभोक्ता समिति मार्फत् गत हप्ता नै घिरिङ गाउँपालिका–२ स्थित गजरकोटको ३५ घरमा बिजुली बलेको थियो । बिजुलीको सुविधा नपुगेका घरहरुमा विद्युतीकरण अभियान तीव्र रुपमा चलिरहेको उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका करीब ६÷७ सय घरमा मात्रै अब बत्ती बल्न बाँकी रहेको र ती घरहरुमा पनि कात्तिकसम्ममा बिजुली पु¥याइने थापाले बताउनुभयो ।

    उहाँका अनुसार नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौली लगायतका ठाउँमा बिजुली विस्तार गर्न बाँकी छ । उपभोक्ता समितिले गाउँपालिकाको अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा एक महिनाको अवधिमा बिजुली विस्तार गरिसकेको छ । “कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन ग¥र्यौ, वर्षौदेखिको जनताको चाहना पूरा हुने क्रममा छ,” थापाले भन्नुभयो ।

    घिरिङ गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको उहाँको भनाई छ ।