घिरिङको पुट्टारमा प्रहरी चौकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङको पुट्टारमा प्रहरी चौकी

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७७, बिहीबार

    तनहुँ : गण्डकी र लुम्बिनी प्रदेशको सीमानामा पर्ने तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । यहाँ प्रहरी चौकी स्थापना गर्न सरकारले एक वर्ष अगावै निर्णय गरेको थियो । बुधबार तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले प्रहरी चौकीको उद्घाटन गर्नुभयो ।

    उहॉले जनताको जिउधनको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “जनतालाई सुरक्षाको प्रत्याभूत गराउन आवश्यक ठाउँमा प्रहरी चौकी स्थापन हुनेछ । पहिल्यै स्थापना भएका चौकीलाई स्तरोन्नति गर्दै लैजाने सरकारको नीति छ,” उहॉले भन्नुभयो । प्रहरी र समुदायबीचको सम्बन्ध सदैव समुधुर हुनुपर्नेमा सांसद सिग्देलको जोड छ ।

    घिरङ गाउँपालिकाले मासिक ८ हजार रुपैयाँ तिर्नेगरी भाडाको घरमा प्रहरी चौकी स्थापना गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहॉका अनुसार १५ जनाको दरबन्दी रहेको त्यहाँ ५ जना प्रहरी खटिएका छन् । प्रहरी सहायक निरीक्षकको कमाण्डमा चौकी सञ्चालन हुने उहॉले बताउनुभयो ।

    चौकीको आफ्नै भवन निर्माण गर्न गाउँपालिकाले जग्गा उपलब्ध गराउनेछ । डुम्रेघाट र फुलबारीघाटमा भवन निर्माणको लागि जग्गा प्रस्ताव गरेको वडाध्यक्ष गंगा कुमालले बताउनुभयो । ‘सुरक्षाको दृष्टिले कहाँ उचित हुन्छ, उहाँहरुले निर्धारण गरेपछि जग्गा दिन गाउँपालिकालाई वडाले सिफारिस गर्छ’, उहॉले भन्नुभयो ।

    पुट्टारमा प्रहरी चौकी अति आवश्यक रहेको वडाध्यक्ष कुमाल बताउनुहुन्छ । केही घटना दुर्घटना भएको खण्डमा गजरकोट प्रहरी चौकीबाट प्रहरी आउदासम्म ढिला हुने गरेको उहॉले बताउनुभयो ।
    पुट्टार दुई प्रदेशसँग मात्र नभएर ३ जिल्लासँग पनि सीमा जोडिएको छ । गण्डकी प्रदेशको नवलपुर र स्याङ्जासँगै लुम्बिनीको पाल्पासँग जोडिएको छ तनहुँको पुट्टार । पुट्टारसँगै घिरिङ गाउँपालिकाको पोखरीछाप र गजरकोटमा समेत प्रहरी चौकी छन् । तनहुँका ८ स्थानमा ईलाका प्रहरी कार्यालय, १७ स्थानमा प्रहरी चौकी र ३ स्थानमा अस्थायी प्रहरी पोष्ट रहेको छ ।