तनहुँ : गण्डकी प्रदेशमा बुधबार २ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ सय २ जनाको पिसीआर परिक्षण गरिएकोमा २ सय ६४ जनाको रिपोर्ट पोजेटिभ र ५ सय ३८ जनाको नेगेटिभ आएको हो ।
प्रदेशका ७ जिल्लामा ८५ जना संक्रमित थपिदा त्यसको दोब्बर बढी कास्कीमा मात्रै १ सय ७९ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार स्याङजामा २२ जना, तनहुँमा १९ जना, नवलपुरमा १८ जना, म्याग्दीमा १३ जना, लमजुङमा ८ जना, गोरखा ३ जना र पर्वतमा २ जनालाई संक्रमण पुष्टी भएको हो । बाग्लुङ, मनाङ र मुस्ताङमा भने बुधबार संक्रमित थपिएनन् ।
योसंगै गण्डकीमा कुल संक्रमितको संख्या ८ हजार २ सय ६४ पुगेको छ । बुधबार १ सय ३५ जनाले कोरोना जितेसंगै कुल ४ हजार ६ सय ५७ जना संक्रमणमुक्त भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
बुधबार ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गण्डकीमा ९५ पुगेको छ ।