नेकपा नगर कमिटीको केन्द्रलाई खबरदारी : पार्टी फुटाउने बेला होइन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा नगर कमिटीको केन्द्रलाई खबरदारी : पार्टी फुटाउने बेला होइन

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, मंगलवार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्म पार्टी एकताको प्रकृया पूरा नहुँदै यतिबेला विभाजनको सङ्घारमा पुगेको राजनीतिक वृतमा चर्चा चलेको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आ–आफ्नै अडानका कारण पार्टी विभाजनको सङ्घारमा पुगेको हो ।

    चुनावताका तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दै जनताको दुई तिहाई मत ल्याएर वर्तमान नेकपा सरकारले देश हाँकिरहेको छ । अस्थिर सरकारका कारण देश विकास नभएको ठानेर जनताले दुई तिहाईको मत दिएको वर्तमान नेकपाको सरकारसँग अलि बढी नै आशावादी छन् । तर, अहिले नेकपाभित्रै देखिएको आन्तरिक विवादले जनतामा निराशा छाएको छ । पार्टीको केन्द्रीय तहको विवादले स्थानीय तहका नेता कार्यकर्तामा पनि चिन्ता बढाएको छ ।

    नेकपा केन्द्रको विवादले समाजवादी नेपाल निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न गराएको भन्दै नेकपा शुक्लागण्डकी नगर कमिटीले पार्टीको ऐतिहासिक एकतामा विभाजन ल्याउने कार्यको अन्त्य गर्न माग गर्दै खबरदारी गरेको छ । कमिटीले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई ज्ञापनपत्र पठाएको छ ।

    नेकपा केन्द्रीय कमिटी सदस्य आशा कोइराला मार्फत् ओली र प्रचण्डलाई, प्रदेश कमिटी सदस्य दुर्गा पराजुली मार्फत् पाण्डेलाई ज्ञापनपत्र पठाइएको छ । “ऐतिहासिक सङ्घर्षहरुको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको गतिविधीले गहिरो चोट पु¥याएको छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    पार्टी विभाजन रोक्नलाई ज्ञापनपत्र बुझाएको नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना बताउनुहुन्छ । “पार्टीको तल्लो तहमा पनि कार्यकर्ताहरु एक आपसमा आरोप प्रत्यारोपमा लागेका छन् । यो विभाजनले विचारको नभइ व्यक्तिको पछि लागेको जस्तो देखिन्छ । यसो हुँदा पार्टीमा वैचारिक स्खलन भएको हो की भन्ने हामीलाई चिन्ता जाग्यो,” उहाँले भन्नुभयो, “केन्द्रमा भएको वादविवादले नगर कमिटीलाई प्रभाव पार्ने छैन । श्रमजीविका लागि काम गर्ने हामी कार्यकर्ताले पार्टी टुटफुट भइहालेको खण्डमा पनि कसैको पक्षमा लाग्ने छैनौँ । एकताको साथ अगाडी बढ्नेछौँ भनेर केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको ध्यान आकृष्ट गराएका छौँ ।”

    नेतृत्व तहमा देखिएको विवादलाई कार्यकर्ता तहमा आगोमा घ्यू थप्ने काम नगर्न उहाँको सुझाव छ । कम्यूनिष्टहरुको विभाजनका कारण जनताले व्यहोर्दै आएको पीडालाई फेरि दोहो¥याउन नहुने तिम्सेनाको तर्क छ ।

    अध्यक्षद्वयबीच पैदा भएको अन्तर विरोध नकरात्मक ढङ्गले अगाडी बढेको नगर कमिटी सचिव परशुराम भण्डारीको धारणा छ । उहाँ भन्नुहुन्छ, “पार्टीमा अन्तरसङ्घर्ष र अन्तरविवाद पैदा हुनु स्वभाविक हो, तर पार्टीमा हाल जुन किसिमको नकारात्मक अन्तरविरोध देखिएको छ यसले पार्टीपंक्ति र आम परिवर्तनगामी जनतामा अन्यौलता छाएको छ ।” अन्यौलता अन्तय गर्न र शहिदको सपना साकार पार्न पार्टी विधानसँगै घोषणापत्रलाई केन्द्रीय कमिटीले आत्मसाथ गर्न उहाँको अनुरोध छ ।

    दुई पार्टीबीचको मिलनले सार्थकता नपाउँदै तुषारापात लाग्छ की भन्ने आभाष आम कार्यकर्तामा उत्पन्न भएको नेकपा गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुलीले बताउनुभयो । “नेपालको कम्युनिष्ट आन्दोलन फुट र विभाजनमा मात्र सीमित रह्यो, जनता र कार्यकर्ताले कम्युनिष्ट पार्टी टुक्राटुक्रा छ भन्ने आभाष गरेको बेलामा पार्टी एकताको घोषणाले उत्साह थपेको थियो । वर्तमान परिस्थितिको मनमुटावले फेरि सबैलाई चोट पु¥याउने काम गरेको छ,” उहाँले भन्नुभयो ।

    केन्द्रीय सदस्य आशा कोइरालाले राष्ट्र र जनताका लागि जवाफदेही भएर एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प पार्टीलाइई नभएको बताउनुभयो । “नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकिकृत गरी एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यका साथ ठूला दुई पार्टीबीच एकता भएको हो । एकताको प्रकृया तल्लो तहसम्म टुङ्गिन नपाउँदै विभाजन हुने वातावरण देखिएको छ,” उहाँले भन्नुभयो, “कम्युनिष्टहरु फुटतिर होईन एकतातिर जानुपर्छ र समग्र विश्वकै नेतृत्व लिन पर्छ ।” पार्टी विखण्डनको सङ्केत नेपाली जनताका लागि पनि अत्यन्तै दुखद भएको बताउँदै कोइरालाले एकताबद्ध भएर नेपाली जनताको आशा अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।