पाेखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको मारले राजश्व संकलनमा ठूलो असर परेको बताउनुभएको छ ।
अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोनाको असरले सम्पुर्ण व्यापार व्यवसाय ठप्प हुँदा राजश्व संकलनमा समेत ठूलो असर परेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा परेको प्रभावका कारण राजश्व संकलन समेत नहुँदा सरकारले आसातित रुपमा सरकारले खर्च गर्न नसकेको समेत बताउनुभयो ।
कोभिड-१९ को संक्रमितको उपचार सहज र सस्तो नभएको भन्ने कुरा निजी अस्पतालले लिने गरेको शुल्कलेनै प्रमाणित गरेको बताउँदै मन्त्री गुरुङले सरकारलाई कोरोना संक्रमितको उपचार गर्नमा अप्ठ्यारो परेको स्पष्ट पार्नुभयो । “निजी अस्पतालले एक जना कोरोना संक्रमितको उपचार गर्न दैनिक ५० हजार देखि १ लाख रुपैयाँ सम्म लिने गरेको भन्ने कुरा आएको छ,” उहाँले भन्नुभयो–“सरकारले उपचार महङ्गो परेकै कारणले पनि उपचार आफै गर्ने निर्णय लिन वाध्य परेको हो ।”
यद्यपी उहाँले सर्वोच्च अदालतले नै कोभिडको उपचार सरकारलाई निशुल्क गर्नु भनेका कारण सरकारले पनि निशुल्क गर्ने निर्णय गरेको बताउँदै गण्डकी प्रदेश सरकारले पनि जनताको निशुल्क उपचारका लागि प्रक्रिया अघि बढाउन जोड दिने बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको क्षमता अभिवृद्धी गर्ने, यस क्षेत्रका अस्पताललाई ५०-५० वेड छुट्याउनका लागि निर्देशन दिने र जिल्ला अस्पतालहरुमा नै सक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया शुरु गर्ने मन्त्री गुरुङले बताउनुभयो । अहिलेको जटिल अवस्थामा जनताहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होम आइसोलेसनमा वसेर स्वयं उपचार गर्न सकेको खण्डमानै कोरोना महामारी नियन्ञणमा ल्याउन सहज हुने उहाँको भनाई थियो ।