प्रदेशको गौरवको आयोजना शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    प्रदेशको गौरवको आयोजना शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको वैडीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको हो ।

    बैडीलाई शुन्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भए पश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताउनुभयो । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिकग्राम कोरिडोरलाई विकास गर्न लागेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

    घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शालिग्राम कोरिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    विसं २०७६ फागुन ११ गते सम्झौता भएको उक्त कोरिडोरको काम विसं २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । उक्त कार्यको अनुगमन पूर्वाधार विकास कार्यालयले गर्नेछ ।

    रु २५ करोड आठ लाख ७३ हजार पाँच सय १३ लागत रहेको उक्त कामको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । उक्त कम्पनीले कोरिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिङ लगायतका काम गर्नेछ । कोरिडोरको रु ३८ करोड ९६ लाख लागत इष्टमेट गरिएपनि रु १३ करोड कममा ठेक्का लागेको हो ।

    यसैगरी सोही मार्गमा रहेको दुपर्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । उक्त पुलको पनि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको छ ।

    रु तीन करोड ८३ लाखको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल विसं २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । उक्त पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ ।

    आवश्यक भएका सबै ठाउँमा पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । घिरिङ गाउँपालिकाका अध्यक्ष रानाले यहाँ पुल बनेपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।