छिम्केश्वरीमा आँबुखैरेनीकाे कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरीमा आँबुखैरेनीकाे कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँकाे सबैभन्दा अग्लाे डाँडा छिम्केश्वरीमा आँबुखैरेनी गाउँपालिकाकाे कार्यपालिका बैठक बस्ने भएकाे छ । आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीकाे पर्यटन प्रबर्धन गर्ने उदेश्य सहित गाउँपालिकाकाे कार्यपालिका बैठक शुक्रबार यहाँ बस्न लागेकाे हाे ।

    प्रचुर सम्भावना रहेरपनि ओझेलमा परेकाे यस ठाउँकाे प्रचारप्रसारका लागि कार्यपालिका बैठक छिम्केश्वरी माइकाे प्राङ्गणमा आयाेजना गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाेख्रेलले जानकारी दिनुभयाे ।

    “तनहुँकै सबैभन्दा अग्लाे डाँडा छिम्केश्वरी पर्यटन र धार्मिक हिसाबले निकै महत्वपूर्ण छ, यसकै प्रचारप्रसारका लागि पहिलाे पटक कार्यालय भन्दा बाहिर कार्यपालिका बैठक बस्दैछ,” उहाँले भन्नुभयाे ।

    समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।