प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, बजेट अभाव नहुने अर्थमन्त्रीको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, बजेट अभाव नहुने अर्थमन्त्रीको घोषणा

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७७, शुक्रबार

    तनहुँ : गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो ।

    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सडक कालोपत्रेको बिहीबार शिलान्यास गर्नुभएको छ । पहिलो चरणमा तनहुँको घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रे तयारी गरिएको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्रे हुन लागेको हो । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएपनि हेटौडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ कम रकममा सडक कालापत्रेको ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारी शुरु भएको र लकडाउनको असरका कारण काम शुरु हुन सकेको थिएन । निर्माण कम्पनीले उक्त मार्गमा सडक चौडाई बनाउने काम शुरु गरिसकेको निर्माण कम्पनीका सञ्चालक हरि ढकालले जानकारी दिनुभयो । कुनै बाधा व्यवधान नभई बजेट विनियोजन भएको खण्डमा समयमै काम सम्पन्न गर्ने ढकालले प्रतिबद्धता जनाउनुभयो ।

    तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरु भएर डेढगाउँको सीमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिनेछ । उक्त सडकको चौडाई सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रेका लागि यस वर्ष रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ ।

    कालोपत्रेको शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न सरोकारवालालाई निर्देशन दिँदै सडक कालोपत्रेका लागि बजेटको अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक कालोपत्रेका क्रममा आउने सक्ने विवाद समाधानका लागि गाउँपालिकाले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले भन्नुभयो, “गत वर्षबाटै काम शुरु हुनुपर्नेमा विविध कारणले ढिला भएको छ, अब कत्ति पनि ढिलाई नगरी कामलाई तीव्रता दिनुपर्छ ।”

    विकास निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम अगाडी बढाएको बताउँदै मन्त्री गुरुङले भविष्यमा यस मार्ग राष्ट्रिय मार्गको रुपमा विकास हुने बताउनुभयो । “भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यस बाटो कालोपत्रे भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ,” मन्त्री गुरुङले भन्नुभयो । मानपुरदेखि डेडगाउँ, डेडगाउँदेखि कावासोती र कावासोतीदेखि त्रिवेणीसम्म जोडिने यस मार्गलाई क्रमशः कालोपत्रे गर्दै लैजाने सरकारको योजना रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

    भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले पहिलो चरणमा तनहुँ खण्ड र दोस्रो चरणमा नवलपुर खण्ड कालोपत्रे गरिने बताउनुभयो । गौरवको योजना भएकाले सडक कालोपत्रेका लागि बजेटको अभाव नहुने बताउँदै मन्त्री बस्नेतले गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सचेत गराउनुभयो । सङ्घीयतापछि विकासले गति लिएको बताउँदै मन्त्री बस्नेतले विकास निर्माणमा राजनीतिक दल विभाजित हुन नहुनेमा जोड दिनुभयो ।

    घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने भन्दै खुशी व्यक्त गर्नुभयो । “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गको रुपमा यस सडक कालोपत्रे भएपछि विभिन्न जिल्लाका हजारौ जनता लाभान्वित हुन्छन्,” उहाँले भन्नुभयो, “यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वदार हो ।”

    बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले सडक कालोपत्रे भएपछि बौदीकालीका जनतालाई यस मार्ग हुँदै पोखरा र अन्यत्र जान सहज हुने भएकाले यस क्षेत्रका वासिन्दा खुशी रहेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले गुणस्तरमा कुनै सम्झौता नहुने भएकाले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देल, घिरिङ गाउँपालिकाका उपाध्यक्ष सरस्वती सिग्देल लगायतले उक्त मार्ग कालाेपत्रेपछि पिछडिएकाे क्षेत्रकाे रुपमा रहेकाे घिरिङकाे समृद्धिकाे ढाेका खुल्ने बताउनुभयाे ।

    विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्रे हुने भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी श्यामकुमार श्रेष्ठले यस मार्गलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेर कालोपत्रेको काम शुरु गरेपछि यस भेगका जनता हर्षित भएको जानकारी दिनुभयो । “यो मार्ग हुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धुलोको एकदमै समस्या छ, कालोपत्रे भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ,” उहाँले भन्नुभयो, “विगतमा नेताहरुले यस बाटोलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गरे, अहिले आएर बल्ल सपना साकार हुने क्रममा छ ।”