छिम्केश्वरी मन्दिर पुनर्निर्माणका लागि थप १५ लाख बजेट विनियोजन (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी मन्दिर पुनर्निर्माणका लागि थप १५ लाख बजेट विनियोजन (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि रु १५ लाख थप बजेट विनियोजन गरेको छ । आँबुखैरेनी गाउँपालिका–५ लाब्दीमा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले मन्दिरको पुनर्निर्माणका लागि थप रु १५ लाख बजेट बजेट विनियोजन गरेको हो ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा मन्दिरको पुनर्निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले चालु आर्थिक वर्षभित्रै मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । “मन्दिर पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन भएको थियो, यस वर्ष थप रु १५ लाख थपेर रु ३० लाख पु¥याएका छौ, यही वर्षभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” मन्दिरको पुनर्निर्माण गत वर्षदेखि शुरु भएको थियो ।

    कार्यपालिका बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न वडामा सञ्चालन गर्ने योजनाहरु छनौट गरेको छ । कार्यक्रम अन्तर्गत न्यूनतम रु दश लाख र बढीमा रु १८ लाखसम्मका योजना छनौट भएका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको म्याद थप गरिएको छ भने प्रशासनिक भवनको नजिकै रहेको अव्यवस्थित बसाईलाई केही क्षतिपूर्ति दिएर व्यवस्थापन गर्ने निर्णय भएको छ ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको छिम्केश्वरीको प्रचारप्रसारका लागि पहिलो पटक कार्यालय भन्दा बाहिर कार्यपालिका बैठक आयोजना गरिएको बताउनुभयो । “बैठकले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि थप बजेट विनियोजन गर्न सफल भएको छ,” उहाँले भन्नुभयो, “छिम्केश्वरीमै आएर कार्यपालिका बैठक गरिनाले यसको प्रचारप्रसार हुनेमा विश्वस्त छौ ।”

    महाभारत श्रृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन विकासका लागि जनप्रतिनिधि आएदेखि नै गाउँपालिकाले विकास योजना सञ्चालन गरिरहेकाे थापाले जानकारी दिनुभयो । “यातायातको सहज सुविधा नभएका कारण मन्दिरको पुनर्निर्माणको काममा ढिलाई भएको छ, क्रमिक रुपमा पूर्वाधार तयार गरिरहेका छौ,” थापाले भन्नुभयो ।

    छिम्केश्वरी मन्दिर आँबुखैरेनीवासीको मात्रै नभई हिन्दु धर्मप्रति आस्था राख्ने सबैको आस्थाको केन्द्रविन्दु भएकाले यसको प्रचारप्रसारका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको थापाले बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले छिम्केश्वरीलाई धार्मिक पर्यटनकाे केन्द्रविन्दु बनाउने लक्ष्य सहित गाउँपालिका लागिपरेकाे जानकारी दिनुभयाे ।

    समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

    गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

    कोभिडको प्रभाव अगाडी दैनिक ५० देखि एक सयसम्म भक्तजन आउने मन्दिरमा हाल भक्तजन आउने क्रम शुरु भएको पुजारी धनराज गुरुङले जानकारी दिनुभयो ।