मानुङकोटमा प्रहरी चौकी राखिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकोटमा प्रहरी चौकी राखिने

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा अस्थायी प्रहरीचौकी राखिने भएको छ । पछिल्लोा समय पर्यटकको चहलपहल ह्वात्तै बढेपछि मानुङकोटमा प्रहरीचौकी राख्न लागिएको हो ।

    मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी प्रहरीचौकी राख्न प्रक्रिया अगाडी बढाइएको व्यास नगरपालिका–५ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले मानुङकोटमा प्रहरी चौकी राख्नका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई अनुरोध गरेको थियो । नगरपालिकाकै पहलमा हाल शुक्रबार र शनिबार नियमित रुपमा प्रहरी मानुङकोट पुग्ने गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नगरपालिकाले पूर्वाधार उपलब्ध गराइदिएको खण्डमा स्थायी प्रहरी चौकी नै मानुङकोटमा राख्न गृहमन्त्रालयमा पहल गरिने बताउनुभयो ।

    सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।
    दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

    मानुङकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छूे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।