तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकाे छ । शनिबार काठमाडाैमा सम्पन्न महासङ्घको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट श्रेष्ठ केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकाे हाे ।
श्रेष्ठले ६५ मत प्राप्त गरी विजयी भएको मतगणनास्थलमा रहनुभएका तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो ।
श्रेष्ठ जिल्ला नगरतर्फबाट महासङ्घको केन्द्रीय सदस्य पदमा विजयी हुनुभएकाे हाे । उहाँ महासङ्घकाे निवर्तमान केन्द्रीय सदस्य समेत हुनुहुन्छ । गत निर्वाचनमा बराबर मत आएपछि उहाँले आधा कार्यकाल महासङ्घकाे केन्द्रीय सदस्य पद सम्हाल्नुभएकाे थियाे ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि श्रेष्ठले व्यावसायिक हकहितका लागि आफू सँधै प्रतिबद्ध रहेकाे बताउनुभयाे । दमाैलीस्थित गण्डकी हार्डवेयरका प्रोपाइटर समेत रहनुभएका श्रेष्ठ तनहुँ जिल्लाकै प्रतिष्ठित व्यापारी हुनुहुन्छ ।