दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोर फूलबारी सहिद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो ।
अस्पतालमा कार्यरत कर्मचारी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षणका लागि अस्पतालको सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. प्रतिक्षा आलेले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरिनेछ ।
समुदायबाट सञ्चालित उक्त अस्पताल गत वर्षको वैशाख १ गतेदेखि शुक्लागण्डकी नगरपालिका मातहत सञ्चालनमा आएको थियो । अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृत सहित कर्मचारी नियुक्त गरेको थियो ।
जर्मनी स्वंयमसेवीहरुको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ साल फागुनमा जर्मनी स्वंयमसेवीहरुको संस्था इभी कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।
अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।