स्याङ्जा : ‘आफ्नो पाठ्यक्रम आफै बनाऊ’ भन्ने मूल नाराका साथ स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाको आयोजना र साभ नेपाल नामक संस्थाको सहजीकरणमा तीन दिने स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा विभिन्न वडाहरुका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्तिहरुसँग स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने विषयवस्तुहरुका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।
स्थानीय पाठ्यक्रम कस्तो बनाउने भन्ने विषयमा स्थानीयहरुको आवश्यकता र स्रोतको पहिचान गर्ने उदेश्यसहित गरिएको उक्त अन्तरक्रियामा सहभागीहरुले समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रम समापन समारोहमा जिल्ला समन्वय समितिकी सभापति सीता सुन्दासले स्थानीय पाठ्यक्रमले स्थानीय आवश्यकताको सम्बोधन गरी व्यक्तिलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय सीप र ज्ञानको संरक्षणलाई आयआर्जनसँग जोड्दै तिनलाई अन्तरार्ष्ट्रिय क्षेत्रमा पुर्याउन सके त्यसबाट उद्यमशीलताको विकास हुने भएकाले स्थानीय पाठ्यक्रममा त्यस्ता विषयवस्तुहरुले प्राथमिकता पाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले फेदीखोलाको वास्तविक ऐना देखिने गरी स्थानीय पाठ्यक्रम निर्माण हुनुपर्ने र त्यसका लागि गाउँपालिकाले संवेदनशील भएर जिम्मेवारी बहन गर्ने धारणा व्यक्त गर्नुभयो ।
साभ नेपालका अध्यक्ष लेखक तथा अनुसन्धानकर्ता तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका रुपमा फेदीखोलाको पहिचान झल्कने महत्वपूर्ण दस्तवेज यहाँकै भाइबहिनीहरुका हातहातमा पुर्याउने उद्देश्य बोकेर आफूहरु अगाडि बढिरहेको धारणा व्यक्त गर्नुभयो ।
समापनका दिन तीन दिनसम्मका गतिविधिहरुको समीक्षा गर्दै प्राप्त निष्कर्षहरुलाई प्रस्तुत गरिएको थियो । यसका साथै स्थानीय पाठ्यक्रम निर्माणका अन्तर्राष्ट्रिय अभ्यासहरुको तुलनात्मक अध्ययन गरिएको थियो । कार्यशालाको अन्तिम दिन सहजीकरण गर्ने संस्था साभ नेपालका अध्यक्ष संस्कृतिकर्मी तुलसी प्रभासले छ्लफलबाट प्राप्त विषयवस्तु प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष, शिक्षा प्रमुख, लगायतलाई हस्तान्तरण गर्नुभयो ।