दमौली अस्पतालमा आइपुग्यो भेन्टिलेटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा आइपुग्यो भेन्टिलेटर

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित अस्पतालमा भेन्टिलेटर आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालमा चार थान भेन्टिलेटर आइपुगेको हो ।

    सरकारले दमौली अस्पतालमा भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेपनि आइसियु शैय्या र अन्य सामग्री भने केही दिनभित्र आइपुग्ने जानकारी दिनुभयो ।

    “अस्पतालमा दश शैय्याको आइसियु कक्ष निर्माण गर्ने तयारी गरेका छौ, त्यसका लागि पाँच वटा कोठा तयार भइसकेको छ,” अधिकारीले भन्नुभयो, “सम्पूर्ण सामग्री आउने बित्तिकै सञ्चालन गर्छौ ।” अस्पतालले ४५ दिनभित्र सम्पूूर्ण सामग्री ल्याउने गरी ठेकेदार कम्पनीसँग मङ्सिर ४ गते सम्झौता गरेको थियो । अधिकारीका अनुसार एउटा भेन्टिलेटरका लागि रु ३० लाख परेको छ ।

    कोभिड–१९ का कारण जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि अवसर बनेको अधिकारीले बताउनुभयो । “विसं २०५९ सालमा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष थिएन,” उहाँले भन्नुभयो, “कोभिडका कारण सघन उपचार कक्ष निर्माण हुने निश्चित भयो ।”

          जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भार समेत पर्दै आइरहेको छ ।

    अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । “अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ,” अधिकारीले भन्नुभयो, “दाँतको सेवाका लागि सञ्चालनमा ल्याइएको एक्सरे मेसिनले सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्नेछन् ।”

    विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पतालमा विभिन्न उपकरण थप गर्दै लगिएको अधिकारीले जानकारी दिनुभयो ।

    गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

          अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञ सहितको सेवा दिन सकिने बताउनुभयो ।

          अस्पतालबाट हाल ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।