तनहुँ : डिभिजन वन कार्यालय तनहुँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जिल्लाका पन्ध्र ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । चितुवाको बढी आतङ्क रहेको स्थानीय तहमा कार्यालयले यसबाट बच्न सक्ने उपायबारे जानकारी दिने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यालयले चालु आर्थिक वर्षमा पन्ध्र ठाउँमा यस्ता कार्यक्रम गर्ने लक्ष्य राखेकामा सबैठाउँमा कार्यक्रम सम्पन्न भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक वनका उपभोक्तालाई यसबारे जानकारी गराइएकाे छ ।
जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई जानकारी गराएका छौ,” उहाँले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”
वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भएपनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उहाँले बताउनुभयो ।
कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्ज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराएको छ । जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”
काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बूढो वा घाइते भई सिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।
पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा दश जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दीपुर लगायतका ठाउँमा दश वर्ष भन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । डिभिजन वन कार्यालय तनहुँले खोरमा नियन्त्रणमा लिएर ११ वटा चितुवालाई अन्यत्र स्थानान्तरण पनि गरिसकेको छ ।