तनहुँ : तनहुँकाे देवघाट गाउँपालिकामा सञ्चारकाे प्रभावबारे सर्वेक्षण गरिएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले गाउँपालिकामा सञ्चारकाे प्रभावबारे सर्वेक्षण गरेका हुन् ।
आमसञ्चार विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीको नेतृत्वकाे टोलीले अनलाइन र रेडियोको प्रभावबारे अध्ययन गरेकाे हाे। अध्ययनमा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत २१ जना विद्यार्थीको सहभागिता रहेको थियाे । प्रश्नावली विधिमार्फत् गरिएको अध्ययनमा दुई सय जना व्यक्ति समावेश गरिएकाे थियाे ।
समुदायमा आमसञ्चारका माध्यमहरुले पारेको प्रभाव पत्ता लगाएर भविष्यमा सञ्चार कानुनहरु निर्माणमा सहयोग पुग्ने गरी अध्ययन गरिएको प्राध्यापक दवाडीले जानकारी दिनुभयाे । सर्वेक्षणले सञ्चार माध्यमहरुको प्रभावकारिता, आमसमुदायको रुची, फाइदा, बेफाइदा र सुझावहरुको बारेमा अध्ययन गरिएकाे थियाे ।
१६ हजार जनसंख्या रहेको देवघाट गाउँपालिकामा एउटा एफएम, एउटा साप्ताहिक सञ्चालनमा छ । सर्वेक्षणबाट प्राप्त निष्कर्षलाई दुई हप्तापछि सार्वजनिक गरिनेछ ।