वातावरणीय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    वातावरणीय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको भानु नगरपालिकास्थित फुस्रेटारमा वातावरणीय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरियो वन कार्यक्रम अन्तरगत संचारिका समूह नेपालको संयोजनमा भानु नगरपालिकाका विभिन्न सामुदायिक वन तथा संघ संस्थामा आवद्ध महिलाहरुबीच उक्त कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा स्थानीय महिलाहरुलाई वातावरणीय संरक्षण साथै कुनै पनि संघसंस्थाको नेतृत्वदायी भूमिकामा बस्दा महिलामैत्री तथा वातावरणमैत्री निर्णयहरु कसरी हुन्छन् भन्ने विषयमा सहजिकरण गरिएको कार्यक्रमकी संयोजक सम्झना रसाइलीले जानकारी दिनुभयो ।

    नगरपालिकाकी उपप्रमुख आशा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का विभिन्न सामुदायिक वन, आमा समूह तथा संघ संस्थामा आवद्ध ३५ जना महिलाको सहभगिता थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले वातावरणीय विषयलाई आर्थिक उपार्जनमा जोड्न नीतिगत खाँचो रहेको बताउनुभयो ।

    उक्त कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले वातावरण तथा वन्यजन्तु संरक्षणका विषयमा सहजीकरण गर्नुभएको थियो । उहॉले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको महत्व, स्थानीय स्तरमा भएका वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको प्रयासहरु, स्थानीय स्तरमा भएका मुद्दाहरु (वन्यजन्तु अपराध, मानव र वन्यजन्तुवीच द्वन्द्व), वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणमा लैङ्गिक तथा सामाजिक समावेशिकरणको महत्वलाई कसरी व्यवस्था गरिएको छ भन्ने विषयमा जानकारी गराउनुभयो ।

    कानुन व्यवसायी एवं अधिवक्ता सरिता भण्डारीले संघ संस्थामा महिलाको संलग्नता, स्थानीय स्तरमा निर्णायक भूमिका तथा स्रोत बॉडफॉटमा महिलाको अवस्था, स्थानीय स्तरमा महिला तथा पिछडिएको समूदायका लागि भएको बजेट व्यवस्था, लैङ्गिक तथा सामाजिक समावेशिकरणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    त्यस्तै, संचारिका समूह तनहुँकी सचिव सम्झना रसाइलीले नागरिक सचेतनामा सञ्चारको महत्व, मुद्दा/समस्या पहिचानको माध्यमका रुपमा सञ्चार, ग्रामीण क्षेत्रको विकासमा सञ्चारको भूमिका, वातावरण संरक्षण र लैङ्गिक तथा सामाजिक समावेशिकरणमा सञ्चार खेल्ने भूमिका र महत्वका विषयमा सहजिकरण गर्नुभएको थियो ।