तनहुँ : तनहुँको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०७७ पारित गरेको छ । मङ्गलबार सम्पन्न विशेष नगरसभाबाट उक्त विधेयक पारित भएको हो ।
सार्वजनिक निजी साझेदारको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी नगरको वृहत्तर सामाजिक तथा आर्थिक विकास गर्न उक्त विधेयक पारित गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सर्वसाधारणलाई भरपर्दो, किफायती र सर्वसुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रस्ताव गरिएको उक्त प्रस्ताव छलफलपछि पारित भएको छ,” श्रेष्ठले भन्नुभयो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा समपन्न भएको विशेष नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७७ लाई संशोधन गर्ने निर्णय गरेको छ । साथै आजै बसेको नगरकार्यपालिकाको बैठकले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्डले गरेका व्यवस्था बमोमिज वडा स्तरीय सहजीकरण समिति र राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुने गरी नगर स्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।