आयोगले थाल्यो नेकपाको वैधानिकताको जाँचबुझ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आयोगले थाल्यो नेकपाको वैधानिकताको जाँचबुझ

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७७, बिहीबार

    काठमाडौ: निर्वाचन आयोगले नेकपाको वैधानिकताका सम्बन्धमा पेस भएका कागजातहरु अध्ययन गर्न शुरु गरेको छ ।
    आ–आफ्नो समूहलाई नेकपाको वैधानिक पार्टी दाबी गर्दै नेकपाको केपी शर्मा ओली पक्षले कागजात पेस गरेको भोलिपल्ट बुधबार सोही पार्टीको अर्को (प्रचण्ड–माधव) पक्षले आवश्यक कागजात र प्रमाणहरु आयोगसमक्ष पेस गरेको थियो । दुवै समूहले पार्टीको नाम नेकपा र चुनाव चिह्न सूर्य माग गर्दै विस्तारित केन्द्रीय सदस्यहरुको सूचीसहित आयोगसमक्ष पत्र बुझाएको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७२ को ४४ मा दलको नाम, छाप, झण्डा वा चिह्हसम्बन्धी विवाद भए त्यसमा दाबी गर्ने दलले र पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

    दुवै पक्षबाट नेकपाको आधिकारिक दाबी गर्दै निवेदन परेपछि सो सम्बन्धमा आयोगले अध्ययन गर्न शुरु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार छ कि छैन भनेर हेर्न शुरु गरेको छ ।