तनहुँ : दिवा खाजा व्यवस्थापनका लागि तनहुँको म्याग्दे गाउँपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ । गाउँपालिकाभित्र रहेका दश वटा विद्यालयलाई गाउँपालिकाले दिवा खाजा व्यवस्थापनका लागि सामग्री सहयोग गरेको हो ।
सङ्घीय सरकारले दिवा खाजा कार्यक्रमका लागि प्रति विद्यार्थी रु १५ का दरले सहयोग गरेको छ भने आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले ती विद्यालयलाई डिक्ची, बाल्टिन, चम्चा, कचौरा, ग्यास सिलिण्डर लगायतका सामग्री सहयोग गरेको छ । दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले आन्तरिक स्रोतबाट सामग्री सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।
रत्न माध्यमिक विद्यालय, मीन माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, जनगणपति माध्यमिक विद्यालय, राधा माध्यमिक विद्यालय, अकला आधारभूत विद्यालय, प्रभा आधारभूत विद्यालय, विजय आधारभूत विद्यालय, पसले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन छ ।