तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले संसद विघटन गर्ने कार्यको विरोध गर्दै प्रधानमन्त्रीलाई संविधानको प्रति पठाएको छ । पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले प्रमुख जिल्ला अधिकारीमार्फत् शुक्रबार संविधानको प्रति पठाउनुभएको हो ।
संसद विघटन गर्ने कार्य संविधान विरोधी भएकाले संविधानले निर्दिष्ट गरेको मार्गमा हिँड्नका लागि संविधानको गहिरो अध्ययन गर्न सहज होस् भन्ने उद्देश्य सहित संविधानको एक प्रति प्रधानमन्त्रीलाई पठाइएको विज्ञप्तीमा उल्लेख छ । संविधानका प्रावधानहरुलाई कुल्चिएको आरोप लगाउँदै यस कदमले राजनैतिक स्थिरता मार्फत् समृद्धिको यात्रामा अगाडी बढी समाजवादी समुन्नत समाज निर्माण गर्ने चाहनामाथि आघात पुगेको विज्ञप्तीमा जनाइएको छ ।