ऋषिङ दौडको उपाधि जुम्लाका राजनलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ दौडको उपाधि जुम्लाका राजनलाई

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले साेमबार आयोजना गरेको ‘ऋषिङ म्याराथन’को उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको छ । ४० किमि दूरीको दौड दुई घण्टा ५१ मिनेट २६ सेकेण्डमा पार गर्दै रोकायाले उपाधि जित्नुभएको हो ।

          प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालिकोटका देवराज महतारा चौथो हुन सफल हुनुभएको छ । उहाँहरुले क्रमशः उक्त दूरी दुई घण्टा ५१ मिनेट ५० सेकेण्ड, दुई घण्टा ५७ मिनेट ५० सेकेण्ड र तीन घण्टा दुई मिनेट ३५ सेकेण्डमा पार गर्नुभएको छ ।

          प्रतियोगितामा प्रथम र द्वितीय हुने रोकाया र साउद त्रिभुवन आर्मी क्लवमा आबद्ध हुनुहुन्छ । तेस्रो हुने सोलुखुम्बुका राई व्यास नगरपालिकाले गत वर्ष आयोजना गरेको व्यास अल्ट्रा म्याराथनमा प्रथम हुन सफल हुनुभएको थियो ।

    खेलमार्फत् पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजित प्रतियोगिताको खुल्लातर्फ एक सय २५ भन्दा बढी धावकको सहभागिता थियो । दौड प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ६५ हजार, रु ४० हजार, रु २५ हजार र रु दश हजार पुरस्कार प्रदान गरिनेछ ।

    खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट भ्युटावरसम्मको ४० किमि दूरीमा भएको छ । ऋषिङ्गे राजाको दरबार रहेको गडीडाँडाबाट शुरु भएको प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोट राजाको भग्नावशेषको रुपमा भिरकोटकोटसम्म पुगेर टुङ्गिएको थियो ।

    दश किलोमिटर दूरीमा भएको स्थानीय दौडको उपाधि पदमबहादुर आलेले जित्नुभएको छ । नेपाल आर्मीका उहाँले रु १५ हजार पाउनुभयो । विजय आले दोस्रो र नेखबहादुर कुमाल तेस्रो हुनभयो । उहाँहरुले क्रमशः रु दश हजार र रु पाँच हजार प्राप्त गर्नुभएको छ । गढीडाँडाबाट शुरु भएको दौड ऋषिङ गाउँपालिका–६ स्थित ज्यामिरेमाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । ८८ जनाले यो विधामा सहभागिता जनाएका थिए ।

    चार किलोमिटर दूरीमा भएको महिला दौडको उपाधि सीता रानाभाटले जित्नुभएको छ । यमुना थापा दोस्रो र सुम्मिता रानाभाट तेस्रो हुन सफल हुनुभयो । उहाँहरुले क्रमश ः रु दश हजार, रु आठ हजार र रु पाँच हजार प्राप्त गर्नुभयो । गढीडाँडादेखि ऋषिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडिएका थिए । यो विधामा ६० जनाको सहभागिता रहेको थियो ।

    ऋषिङ ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    तस्वीर साैजन्य : सविन लामिछाने