दुलेगौँडा : बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी-११ राईपुरले उचालेको छ । युवा तथा खेलकुद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा मङ्गलबार वडा नम्बर १२ ढोर फिरफिरे (क) लाई ११ ले पराजित गरेको हो । २५–१८, २५–१९, २५–२३ को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नम्बर ११ ले नगद ६० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको वडा नम्बर १२ (क) ले ३० हजार रुपैयाँमा चित्त बुझायो । यसअघि सोमबार भएको सेमिफाईनलमा वडा नम्बर १ थप्रेकलाई हराउदै ११ फाईनल प्रवेश गरेको हो । वडा नम्बर ५ बेलचौतारालाई हराउदै १२ (क) फाइनल यात्रा सुरक्षित गरेको थियो ।
वडा नम्बर १ ले वडा नम्बर ५ लाई २५–१६, २५–१९, २३–२५ र २६–२४ को सेटमा हराउदै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो हुने वडा नम्बर १ ले नगद १५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । विजेताहरुलाई वडाध्यक्ष मनराज गुरुङले पुरस्कार वितरण गर्नुभयाे ।
२८ बजार मेलाको अवसरमा आयोजित प्रीतयोगिता आइतरबादेखि शुरु भएको हो । वडा नम्बर १२ का दुई सहित १० समुह सहभागी भएका थिए । शुक्लागण्डकीका १२ वटै वडाका समुहलाई प्रतिष्पर्धा गराउने उदेश्यले आयोजित प्रतियोगितामा वडा नम्बर २, ४ र ८ भने सहभागी नभएको आयोजकले जनाएको छ ।