दुलेगौँडा :नवज्योति आमा समूहको अध्यक्षमा शारदा रिमाल पौडेल चयन हुनुभएको छ। शुक्लागण्डकी २ स्थित नवज्योति आमा समूहको बुधबार सम्पन्न १२ औं साधारणसभा तथा पाँचाै अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जमुना वाग्ले, सचिवमा अस्मिता खनाल, सह सचिवमा सविता रिमाल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सदस्यहरूमा मिना वाग्ले, अप्सरा भण्डारी, नानुमायाँ खत्री, सिता अधिकारी, सुनिता ढुङ्गाना र सरस्वती लम्साल रहनुभएको छ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ, तनहुँका महिला उद्यमी समितिका अध्यक्ष कल्पना गौलीले मातृ शक्तिको उपयोगबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो । माँ दुर्गा नामक आध्यात्मिक संस्थाकी अध्यक्ष समेत रहनुभएकी गौलीले सदैव कर्ममा व्यस्त रहने महिलाहरूलाई आफ्नो उद्यममा एकाग्र हुन आह्वान गर्दै श्रमलाई पुजा गर्ने संस्कृति बसाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । एकता र सहकार्यको प्रतिकका रूपमा आमा समुहहरूले सामाजिक विकासमा उल्लेख्य भूमिका खेलेको गौलीको भनाई छ।
साधारणसभा तथा अधिवेशनको अवसरमा सहयोगी जेष्ठ नागरिक खगिसरा थापालाई न्यायो पछ्यौराद्वारा सम्मान गरिएको थियोे । कार्यक्रममा शुक्लागण्डकी नगर कार्यपालिका सदस्य दानु अधिकारी सापकोटा, गाछेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज तिवारी, आमा समुहका पुर्व अध्यक्षहरू देवी पौडेल र ईन्दिरा पौडेल लगायतले समुहको प्रगतिको शुभकामना दिनुुभएको थियो ।
साधारणसभाका अवसरमा समुहका निवर्तमान अध्यक्ष बिन्देश्वरी लम्सालले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा भुजेलले आर्थिक प्रतिवेदन र उपाध्यक्ष सिता रिमालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।