तनहुँ : तनहुँको देवघाट गाउँपालिका–१ बसेनीस्थित मङ्गलसिंह भुजेलको घरमा आगलागी हुँदा घर क्षति भएको छ । ढुङ्गाको पर्खाल र खरको छानो भएको घर जलेर नष्ट हुँदा करिब रु तीन लाख बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट करिब रु एक लाख ३५ हजार बराबरको खाद्यान्न, भाडाकुडा, मोबाइल र नगद पैसा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
सोमबार दिउँसो करिब साढे ३ बजे लागेको आगो निभाउन स्थानीयवासीलाई एक घण्टा लागेको थियो । आर्थिक अवस्था कमजोर भएका भुजेल परिवारलाई घर जलेर क्षति भएपछि समस्या भएको छ । पीडित परिवारलाई गाउँपालिकाले तत्कालै केही थान म्याट उपलब्ध गराएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
त्यस्तै रोटरी क्लव अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान र अध्यक्ष अनुकूल श्रेष्ठ सहितको टिमले तत्काल रु सात हजार नगद सहयोग गर्नुभएको छ ।