दुलेगौँडा : पछिल्ला वर्ष शुक्लागण्डकी नगरपालिका–१० खोरादीका किसान बाख्रापालनतर्फ आकर्षित भएका छन् । यहाँका ३० घरधुरीले व्यवासयिक तरिकाले बाख्रा पाल्दै आएका छन् । उनीहरुलाई दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिकाको पशु सेवा शाखाले पनि सघाउँदै आएको छ ।
यसपाली यहाँका किसानलाई बाख्रापालन सम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने तालिम प्रदान गरिएको छ । आइतबार र सोमबार दुई दिन ढोरफिर्दीमा तालिम प्रदान गरिएको पशु सेवा शाखाका कर्मचारी ईश्वर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा २४ जना किसानको सहभागिता थियो ।
किसानलाई बाख्राको जात छनौट, गोठ÷खोर, प्रजनन् र आहार व्यवस्थापनसँगै बाख्रामा लाग्ने महामारी र सर्तक रहने उपाय, घाँसमा आधारित पशुपालनको अभ्यासका बारेमा सहजीकरण गरिएको रेग्मीले बताउनुभयो ।
तालिम समापन अवसरमा बोल्दै शुक्लागण्डकी-१० का वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्रीले खोरादीलाई बाख्रापालनको पकेट क्षेत्र बनाउने बताउनुभयो । वडाबाट नगरलाई पुग्ने मासु उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो । उहाँले कृषि र पशुपालनबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो ।
सहभागी किसानलाई नगरपालिकाका पशु प्राविधिकसँगै पशु चिकित्सक हुमराज तिम्लिसिनाले सहजीकरण गर्नुभएको थियो ।