तनहुँ : सर्वसाधारणलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न तनहुँको देनघाटमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले देवघाट गाउँपालिका-५ मा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याएको हो ।
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिनुभयो । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।
केन्द्रको उदघाटन गर्दै देवघाट गलेश्वर आश्रमका स्वामी १००८ आत्मानन्द गिरीजी महाराजलो देवघाटधाम क्षेत्रमा बढी वृद्धवृद्धा बसोबास गर्ने भएकाले पनि आयुर्वेद औषधी पर्याप्त मात्रामा केन्द्रबाट उपलब्ध हुनुपर्ने बताउनुभयो ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले नागरिक आरोग्य सेवा केन्द्रबाट देवघाट गाउँपालिका जनसमुदायका धेरै व्यक्ति लाभान्वित हुने बताउनुभयो ।
जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेको बताउनुभयो । यस क्षेत्रका सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिननपरोस् भन्ने उद्देश्यसहित आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बस्नेतले जानकारी दिनुभयो ।