खुल्लामैदान यथास्थितिमा राख्न माग गर्दै हस्ताक्षर अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    खुल्लामैदान यथास्थितिमा राख्न माग गर्दै हस्ताक्षर अभियान

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित खुल्लामैदानमा उद्यान निर्माण शुरु भएपछि त्यसको विरोधमा हस्ताक्षर सङ्कलन थालिएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको खुल्लामैदानमा सर्वदलीय निर्णय बमोजिम व्यास नगरपालिकाले उद्यान निर्माण शुरु भएपछि स्कूल अफ डेमोक्रेसीको नेतृत्वमा मङ्गलबारबाट हस्ताक्षर सङ्कलन अभियान थालिएको हो ।

    खुल्लामैदानलाई यथास्थितिमै राख्नुपर्ने माग सहित हस्ताक्षर अभियान चलाइएको उक्त संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । भूकम्प गएका बेला सर्वसाधारणलाई आश्रय दिएको उक्त मैदानमा संरचना निर्माण गर्न लागेपछि आफूहरु विरोधमा उत्रिनुपरेको अधिकारीले बताउनुभयो ।

    नगरपालिकाको ध्यानाकर्षण

    खुल्लामैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । अनसनचौतारी नजिकको खुल्लामैदानमा दमौली सेन्ट्रल पार्क निर्माण कार्य प्रारम्भ भएपछि केही सङ्घसंस्था, व्यक्तिहरुबाट सामाजिक सञ्जाल मार्फत् दिइएको टिप्पणीप्रति नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।

    नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले प्रेस विज्ञप्ती जारी गरी सर्वदलीय बैठकबाट सहमति भई पार्क निर्माण कार्य शुरु गरिएको जानकारी गराउनुभयो । विज्ञप्तीमा भनिएको छ, “स्थानीय तहको पुर्नसंरचना पूर्व तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बद्री तिवारीको अध्यक्षतामा भएको सर्वदलीय बैठकबाट विपी वनवाटिकालाई खेल मैदानको रुपमा र अनसन चौतारी नजिकको चौरमा पार्क निर्माण गर्ने, कृषि कार्यालय नजिकबाट अस्पताल जाने बाटो निर्माण गर्ने सहमति भई निर्णय भएको थियो । उक्त जग्गा जिविस तनहुँकै पूर्जा भित्र रहेको समेत स्मरण गराइन्छ ।”

    स्थानीय तहको पुर्नसंरचना पछि उक्त चौरमा करिब आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीहरुका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । कृषि कार्यालय तर्फ स्थायी, अपाङ्गमैत्री मञ्च निर्माण गरिने र पार्कको संरक्षणका लागि बीच भागमा फूलको स्थायी क्यारी निर्माण गरी अन्य भागहरुमा मनोरञ्जनात्मक पार्क जिल्ला समन्वय समितिसँग समन्वय गरी निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । अन्य विषयमा छलफल गर्न नगरपालिका तयार रहेको विज्ञप्तीमा भनिएको छ ।