तनहुँ : तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा यही वैशाखबाट कालोपत्रेको तयारी गरिएको हो ।
हाल उक्त सडकमा नाला निर्माणको कामलाई तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । “सडक फराकिलो बनाउने काम र नाला निर्माणको काम सँगसँगै अगाडी बढिरहेको छ,” ढुङ्गानाले भन्नुभयो, “वैशाखबाट कालोपत्रे शुरु गर्ने तयारी गरिएको छ ।”
उहाँका अनुसार उक्त सडकखण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै वित्तीय प्रगति ५२ प्रतिशत छ । कूल १६ किमि सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु ८ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । “यो बजेटले १२ किलोमिटर दूरी कालोपत्रे हुनेछ,” उहाँले भन्नुभयो ।
विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको उक्त सडकको म्याद विसं २०७८ फागुन १३ गतेसम्म रहेको छ । त्यसका लागि काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकखण्डको साढे दुई किलोमिटर दूरीमा जङ्गल पर्ने भएकाले कालोपत्रेका लागि समस्या भएको छ । “जङ्गलले गर्दा साढे दुई किमि समस्या भएको छ, निर्देशनालयले आइइका लागि प्रकृया शुरु गरिसकेको छ,” उहाँले भन्नुभयो, “आइइको प्रतिवेदन आएपछि उक्त खण्डको काम शुरु हुन्छ ।”
निर्माण कम्पनीले स्थानीय तहबाट स्वीकृत लिएर सोही ठाउँमा अस्थायी क्रसर राखेर काम गरिरहेको छ । म्यादभन्दा ६ महिना पहिला काम सम्पन्न गरे बोनस प्राप्त हुने भएकाले निर्माण कम्पनीले सोही बमोजिम कामलाई तीव्र दिएको ढुङ्गानाले बताउनुभयो ।
छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रेपछि भक्तजनको सङ्ख्या थप वृद्धि हुनेछ ।
आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाईमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«े लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ ।
आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुननिर्माण पनि गरिरहेको छ । छिम्केश्वरी डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।
छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडीदेखि घरबास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेको दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।
त्यस्तै लाब्दीगाउँमा पनि घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । १३ घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएपनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको थियो । लाब्दीका १३ घरमा घरबास सञ्चालनको तयारी छ ।