तनहुँ : घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्तबहादुर भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान गरेको हो ।
गत चैत ३१ गते घर जलेपछि भुजेल परिवार टहरोमा बस्दै आएको छ । हावाहुरी र पानी आउँदा भुजेल परिवारलाई समस्या पर्दै आएको छ ।
गाउँपालिकाले पीडित परिवारलाई दुई बोरा चामल, एउटा त्रिपाल, पा‘च केजी दाल, दुई पोका नून, दुई लिटर तेल र रु २५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु २० हजार प्रदान गरेको छ ।
जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर भुजेल परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । संयुक्त यस परिवारमा सात जना सदस्य छन् । भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलको पहलमा सोमबार खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । पीडितको घर निर्माणका लागि जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिनुभयो ।