तनहुँ : कोभिड–१९ को जोखिम बढ्दै गएपछि सर्वसाधारण नागरिकलाई यसबारे सचेतना जगाउन र कोभिड न्यूनीकरणमा भूमिका खेल्न नेकपा एमाले भिमाद नगर कमिटीले एक सय एक सदस्यीय कमिटी गठन गरेको छ ।
एमाले भिमाद नगर कमिटीको बुधबार बसेको विशेष बैठकले नगर कमिटी अध्यक्ष इमानबहादुर थापाको संयोजक र सचिव उमाकान्त श्रेष्ठ सहसंयोजक रहेको कोभिड न्यूनीकरण तथा सचेतना सञ्चालन कमिटी गठन गरेको हो ।
नगर कमिटीका इन्चार्ज धर्म खनालको उपस्थितिमा बसेको बैठकले नगरका ९ वटै वडामा वडा इन्चार्ज संयोजक र अध्यक्ष र सचिव सहसंयोजक रहेको वडा स्तरीय कमिटी समेत गठन गरेको छ । उक्त कमिटीले प्रत्येक वडामा कोभिड न्यूनीकरणका लागि सचेतना जगाउने र अप्ठ्यारोमा परेका नागरिकलाई सहजता प्रदान गर्न भूमिका खेल्ने नगर कमिटी अध्यक्ष थापाले जानकारी दिनुभयो ।
“नेकपा एमाले जनताप्रति उत्तरदायी पार्टी हो, कोरोनाको दोस्रो लहर बढ्दै गइरहेको सन्दर्भमा भिमादका जनतालाई यसबाट बचाउन उक्त कमिटीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ,” थापाले भन्नुभयो । कोभिड न्युनीकरणका लागि पार्टीले गठन गरेको यस्तो समिति तनहुँ जिल्लामै पहिलो हो ।