एजेन्सी : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जिन्ते पक्का भएको छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले पछिल्लो चार सिजनमा तेस्रोपटक लिग उपाधि जितेको हो ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएपछि तीन खेल बाँकी हुँदै म्यानचेस्टर सिटीको उपाधि पक्का भएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भयो । लेस्टरका लागि ल्यूक थोमसले १० औँ तथा काग्लार सोयुन्कुले ६६ औँ मिनेटमा गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि १५ औँ मिनेटमा म्यासन ग्रीनवूडले एक गोल गरेका हुन् ।
पराजित भएको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ७० अंक छ । अब बाँकी तीनै खेल जित्ने र शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीनै खेल गुमाए पनि उपाधिमा कुनै असर पर्ने छैन । म्यानचेस्टर सिटीको ८० अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको ३६ खेलबाट ६६ अंक भएको छ ।