दमाैली : दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारबाट कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।
अस्पतालमा पाँच जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार जना व्यास नगरपालिका र एक जना म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनिया पीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।
“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधी दिइएको छ,” डा. पौडेलले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्था हेर्दा उक्त शैय्या आजै भरिने जस्तो स्थिति देखिएको डा. पौडेलले बताउनुभयो ।
अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रुपान्तरण गरेको थियो । उक्त ठाउँमा शैय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसियु र चार वटा भेन्टिलेटर सहितको शैय्या यसअघि नै तयार गरिसकेको जनाएकाे छ ।