तनहुँका स्थानीय तहसँग पर्याप्त छैन अक्सिजन सिलिन्डर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका स्थानीय तहसँग पर्याप्त छैन अक्सिजन सिलिन्डर

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार

    तनहुँ : कोरोना भाइरसको दोस्रो लहर देशभर तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहरको रुपमा फैलिएको ‘युके भेरियन्ट’का धेरै जसो सङ्क्रमितसाई श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजनको अभावमा सङ्क्रमितले ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भइरहेका छन् । तर, तनहुँका स्थानीय तहसँग भने पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नै छैन ।

    तनहुँका ९ स्थानीय तहमा जम्मा ५४ वटा भरिएका अक्सिजनसहितको सिलिन्डर उपलब्ध रहेको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लामा १० वटा स्थानीय तह छन् । सबैभन्दा धेरै बन्दीपुर गाउँपालिकासँग १३ वटा अक्सिजन सहितको सिलिन्डर छ । भीमाद नगरपालिकामा १०, देवघाट गाउँपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ७, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा ४/४, भानु नगरपालिका र ऋषिङ गाउँपालिकामा ३/३, घिरिङ गाउँपालिकासँग १ वटा अक्सिजनको सिलिन्डर छ ।

    व्यास नगरपालिकासँग भने एउटा पनि अक्सिजनको सिलिन्डर नरहेको स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले हालै ३ वटा अक्सिजनको सिलिन्डर खरिद गरेको बताउनुभयो । “हामीसँग अक्सिजन चलाउने जनशक्ति र हस्पिटल छैनन् । आधारभूत स्वास्थ्यचौकी मात्रै छन् । तसर्थ यसअघि हामीकहाँ अक्सिजन नै थिएन,” न्यौपानेले भन्नुभयो, ‘अहिले खरिद गर्ने प्रयत्न गरेपनि बजारमा पाएनौं ।”

    व्यास नगरपालिकाले दमौलीस्थित कृषि विकास बैंकको भवनमा सञ्चालन गर्ने आइसोलेसनका लागि ३० वटा खाली सिलिन्डर उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएको उहॉले बताउनुभयो ।

    जिल्लाको ठूलो दमौली अस्पतालसँग ३० सिलिन्डर अक्सिजन रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । उहॉले दिएको जानकारी अनुसार जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा २५ सिलिन्डर अक्सिजन रहेको छ ।