निरीह वडाध्यक्ष !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    निरीह वडाध्यक्ष !

    मनराज गुरुङ

    ३१ बैशाख २०७८, शुक्रबार

    चिनियाँ क्रान्तीका नायक कमरेड माओ त्सेतुङको युवाहरुको लागी एक सन्देश छ :
    युवाहरु हो, कि तिमी शासन गर्न तयार होउ,
    होइन भने आफु भन्दा अयोग्यबाट शासित बन ।

    यि भनाइहरु जब मेरो युवा मानसपटलमा प्रवेश गर्यो, तब विस्तारै राजनैतिक चेतसंग सामिप्यता बढ्यो । देशले मलाइ के दियो होइन, मैले देशको लागी के दिन सक्छु भन्ने भावनाको विकास हुन थालेपछी राजनैतीक लत मज्जैले झाङगिदै गयो । नेपाली युवाहरुले आफ्नो भविष्य आफ्नो भुमिमा देख्न नसक्नुको थुप्रै कारणहरु होलान । अब पनी हामी गाली गरेर आफ्नो जिम्मेवारी बाट पन्छीने कि आफै विकल्प बन्ने ? यस्ता प्रश्नको उत्तर सचेत युवाहरुले दिन आवश्यक छ । त्यसको जड शुत्र भनेकै राजनीती हो । कुनै दल संगको सामिप्य रहेर राजनिती मार्फत म जस्ता युवाहरुको भविष्यको लागी जुर्मुराउनु आवश्यक ठाने । त्यसो त राजनितीले देश थिलथिलिएको बेला राजनीतीबाट अछुतो रहने कुरै भएन ।

    देशमा निकै ठुलो राजनैतिक उथलपुथल पछी संविधान प्राप्त भएको थियो । संविधान मार्फत देशको शासकीय स्वरुप नै परिवर्तन गरेर नयाँ नेपाल बनाउने अभियान सुरु भयो । संविधान लागु गर्ने पहिलो खुट्किलो थियो संघियता कार्यन्वयन गर्ने । त्यसको प्रारम्भ स्थानिय चुनाव मार्फत हुने भयो । झण्डै २० बर्ष देखी जनप्रतिनिधी विहीन रहेको स्थानिय तहमा अब जनप्रतिनिधी आउने र समृद्धीको अभियान तल्लो तहबाट सुरु हुने संखघोष गरियो । “सिंह दरबारको अधिकार, गाउँ गाउँमा” भन्ने नाराका साथ समृद्धीको खाका बोकेर चुनावी मैदानमा होमिने मध्ये एकजना पात्र म पनी भएँ ।

    ३१ बैशाख २०७४ साल मेरो लागी एक ऐतिहासिक दिन थियो । २४ बर्षको युवा अवस्थामै जनताको अमुल्य मत मार्फत वडा अध्यक्षमा निर्वाचित भएँ । २० बर्षे लामो अवधी पछि जनताले आफ्नो स्थानिय प्रतिनिधी पाएको दिन । मनमा उल्लास र उमंगताको सिमा नै रहेन । स्वभाविक थियो कि चुनाव भनेको सपनाको खेती र आश्वासनको भारी बोक्नु हो । म पनी त्यसबाट अछुतो रहन सकिन । जनताको नियमित जिवनयापनमा आवश्यक पर्ने प्रशासनीक कार्यको सहजीकरण र स्थानिय विकास निर्माणको पैरवी गर्नु मेरो मुख्य कार्यभार थियो । जनताको घर आगनको प्रतिनीधी हुनुका नाताले जनताको बहुआयामिक सवालको निराकरण गर्ने भुमिकामा रहेर काम गर्नुपर्ने भयो । त्यही जिम्मेवारी प्राप्त गरेको आज ४ बर्ष पुरा भएको छ ।

    अनुभव र कानुनी ज्ञानको अभावले भएका कमी कमजोरी मेरा लागी मार्गदर्शन बन्यो । यो कालखण्ड मेरो जिवनको स्वर्णीम समय बनेको छ । राजनिती सिधा रेखामा हिड्दैन भने झैँ मेरो चार बर्ष पनी सहज रहेन । यस बिचमा निकै ठुलो उतारचढावहरु सामाना गर्नुपर्यो । जनताको सेवामा दिनरात, घामपानी, भोक निन्द्रा नभनी निरन्तर खटिदा प्राप्त भएको उपलब्धीले दिने आत्मसन्तुष्टी र फगत आरोप तथा आलोचनाको भागीदार हुनुकोे अनुभुती स्मरणलायक रहेको छ ।

    जनताको साझा प्रतिनिधी हुँदा हुँदै पनी राजनैतीक रुपमा हुनुपर्ने ध्रुविकरण, राजनैतिक आक्षेप, खिचातानी र कित्ताकाटले सकारात्मक कार्यहरुमा पर्ने प्रभाव र त्यसको परिणामको पनी मज्जैले अनुभुती गरेको छु । मेरो नेतृत्वमा प्राप्त गरेको उपलब्धी र विकासका नयाँ आयामहरु होस वा मेरो सवल दुर्वल पक्षको बारेमा मेरा प्रीय मतदाताहरुले नै समिक्षा गर्ने छन । तर यहाँ भने मैले यस बिचमा प्राप्त गरेको अनुभुती र सामना गरेको चुनौतीहरुको संगालो फेहरिस्त प्रस्तुत गर्न चाहान्छु ।

    १) कानुनी ज्ञानको अभाव र कार्यन्वयनमा जटिलता

    जनताको दैनिकीसंग जोडिने महत्वपुर्ण प्रतिनिधि हो वडा अध्यक्ष । जसको सिफारिस र हस्ताक्षरसँग जनताको दैनिकी जोडिएको हुन्छ । जनताको हरेक सवालसंग वडा अध्यक्ष साक्षत्कार हुनु अनिवार्य छ । जन्म, मृत्यु, विवाह या व्यक्तिगत अन्य घटना, व्यक्तिको नागरिकता सिफरिस होस वा नाता सम्बन्ध कायम, घरायसी झैझगडा होस वा सम्बन्ध विच्छेद, संधियार विचको किचलो होस वा अंश वण्डा, चोरी डकैती होस वा सार्बजनीक अपराध । व्यक्ति व्यक्तिमा हुने अति सामान्य सवाल देखी समुदायको जटिल समस्याको बहस, पैरवी र समस्या समाधानको लागी सहजीकरण गर्नुपर्ने महत्वपुर्ण भुमिकामा वडा अध्यक्ष जोडिनु पर्दछ । तर, उल्लेखित सम्पुर्ण सवालमा थुप्रै व्यवाहारिक र कानुनी जटिलताहरु आइपर्छन । यी तमाम विषयमा एकजना वडा अध्यक्षको मात्रै ज्ञान पुर्ण हुन सक्दैन । नेपाल सरकारबाट जारी भएका नियम कानुनको कार्यन्वयनको लागी आधारभुत तह सम्म पु¥याउने माध्यम भनेकै वडा अध्यक्ष हो । वडा अध्यक्षको अधिकार क्षेत्र भित्र पर्ने ३२ प्रकृतीका सिफारिस संगै संविधान, नागरिकता ऐन, सार्बजकि खरिद ऐन, आर्थीक ऐन, मुलुकी ऐन देखी शिक्षा, वन, पर्यटन, वाणिज्य, भुमी लगायतका बहुआयामिक बिषयसंग सम्बन्धीत नियम, कानुन तथा कार्यविधीहरुको बारेमा जानकार हुन आवश्यक छ । जुन कुरा एकै पटक एक व्यक्तिमा निपुर्ण हुन सम्भव छैन तैपनी समस्या समाधानको लागी निरन्तर जोडिनुपर्छ । समाजमा हुने सामाजीक गतिवीधी देखी दैनिक प्रशासनिक कार्यमा आउने जटिलतालाइ समाधान गर्नु निकै चुनौतीपुर्ण छ । कतिपय सवालहरुमा नियम कानुन भन्दा पनी व्यवहारिक पक्ष प्रधान हुदो रहेछ । जुन जोखिम लिने आँट र सामाथ्र्य वडा अध्यक्षमा निर्भर रहन्छ ।

    २) दक्ष जनशक्तिको अभाव र सुविधाभोगी कर्मचारी

    जनप्रतिनिधि नहुदाँ आकर्षणको केन्द्र बनेको स्थानिय तह, निर्वाचन भए लगत्तै अधिकांश पालीकाहरुमा कर्मचारीको अभाव भए । यो समस्या अझै पनि जिउका तिउ छन् । अनुभवी र दक्ष कर्मचारीहरु सुविधा बढी, कामको भार कम भएका कार्यलयहरु रोजेर सरुवा हुने वा काजमा जाने प्रवृत्ती व्यापक नै छ । जसले गर्दा स्थानिय तहहरु जनशक्ति विहिन हुनुपर्ने अवस्था छ । जनशक्ति भए पनी पुर्ण छैनन् । अझ दुर्गमका स्थानिय तहहरुमा समस्या कहाली लाग्दो देखिन्छ । समस्या यती सम्म देखीयो कि करारमा नियुक्ति पाएको प्राविधीक कर्मचारीले शाखा प्रमुखको जिम्मेवारी वहन गर्नु पर्ने वा विषय विज्ञता नै नभएको व्यक्तिलाइ विषयगत शाखा सञ्चालनको जिम्मेवारी दिए पछी त्यसको परिणाम कस्तो आउला ? सुगमका एकाध पालिकाहरु बाहेक अधिकांश स्थानिय तह र वडा कार्यलयहरुमा आवश्यक दक्ष जनशक्तिको अभाव दैनिक जसो खड्कि रहेको छ ।
    लोक सेवा पास गरेर खरदारमा नियुक्ति पाएका नयाँ कर्मचारीहरु कार्य दक्षतामा कमि हुने, केही समय स्थानिय तह बसे पछी निजामती ऐनको लुपहोललाइ आफु अनुकुल मिलाएर पायक पर्ने र सुविधाजनक कार्यलय रोजेर सरुवा हुने प्रवृत्तीले स्थानिय तह भनेजसरी सञ्चालन हुन सकिरहेको छैन् । राजनैतिक पहँुचबाट करार वा अस्थायी नियुक्ति भएका मध्ये कतिपयमा कार्यदक्षता हुदैन् । कसैमा क्षमता हुदाहुँदै पनी इच्छाशक्ति नदेखाउनु र कतीपय शक्ति केन्द्रको चाकडी गरेर आफ्नो स्वार्थ पुर्ति गर्ने प्रवृत्ती हावी देखिन्छ ।

    ३) प्रवृत्तिगत समस्या

    जनप्रतिनिधी होस वा कर्मचारी दुवैमा केही प्रवृत्तीगत समस्या महशुस गरेको छु । जसले गर्दा स्थानिय तहमा परिणाममुखी उपलब्धी हासिल गर्न चुनौती देखिएको छ ।

    पहिलो पक्ष

    इमान्दार र निष्ठावान : उनीहरु आफ्नो जिम्मेवारी प्रति निष्ठावान र इमान्दार हुन्छन । आफुले पाएको जिम्मेवारीलाई कुशलताका साथ पुरा गर्छन । सेवाग्राही प्रति उत्तरदायी हुनु र कसरी हुन्छ सेवा छिटो दिएर सन्तुष्ट गरेर पठाउने । आफ्नो सेवा प्रवाहलाई निस्वार्थ ढंगले कार्यन्वयन गर्छन । नयाँ–नयाँ काम गर्ने इच्छाशक्ति जाहेर गर्ने, योजना निर्माण गर्ने र परिणाम देखाउने गरी कम्मर कसेर काम गर्ने । यो समुहलाई न कुनै सुविधा, न कुनै स्वार्थ, न कुनै राजनैतिक दाउपेच । उनिहरु निवास्र्थ संस्थाको भलाइको निम्ती आफ्नो जिम्मेवारी वहन गरेको पाएको छु ।

    दोश्रो पक्ष

    राजाको काम कहिले जाला घाम : यो प्रवृत्ती भएका संख्यात्मक हिसाबले बढी देखिन्छ । आफुले पाएको अधिकार र कार्यक्षेत्र बाहेक एक इन्च पनी दायाँबायाँ नहुने । यिनीहरु कार्यालय आउने, कुर्चीमा बस्ने, आफ्नो जिम्मेवारीको काम भए बाध्यता बस फत्ते गर्ने अन्यथा कुर्चीमा कोट झुण्डाएर समकक्षीकोमा गफ लगाएर बस्ने । आफ्नो जिम्मेवारीलाई कसरी परिणाममुखी र उपलब्धीमुलक बनाउने भन्दा पनी सेवा सुविधाको भरपुर उपयोग गर्ने । जनाताको सेवा र आफुले पाएको जिम्मेवारीबाट कसरी अब्बल हुने भन्दा पनी चलीरहेकै त छ । मैले मात्रै गरेर के हुन्छ र भन्ने मानसिकता राख्छन् । आफ्नो कमजोरी र दुर्बल पक्ष ढाक्न नियम कानुनको कारण देखाउने, अरुको आलोचना गर्ने वा विभिन्न बाहाना बाजी गरेर बाधाअड्चन देखाउने ।

    तेश्रो पक्ष

    स्वार्थी, चाकडी र कुरौटे : शक्ति केन्द्रको चाकडी गर्ने यो समुहको विशेषता नै हो । आफुले केही नगर्ने अरुले गरेको काममा कमी कमजोरी औल्याएर आलोचना गर्ने र कुरा लगाउने । यस्ता प्रवृत्ती भएकाहरु आफ्नो स्वार्थ मिल्दो व्यक्तिको समुह बनाउने र प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत वा अन्य शक्ति केन्द्रहरुमा धाउने, रिझाउने, गलत सन्देश प्रवाह गर्ने र आफु अनुकुल स्वार्थ पुर्ती गर्ने ।

    ४) पर्याप्त बजेटको अभाव तथा योजना कै लागि धाइरहनुपर्ने

    जनप्रतिनिधी र विकास निर्माण पर्यावाची शब्दवली हुन् । विकासको गतिविधी नै जनप्रतिनीधीको मुल्यांकनको आधार बनेको छ । अझ स्थानियस्तरमा हुने विकासको गतिविधी झनै महत्वपुर्ण रहन्छ । भुगोल र भेग अनुसार जनताको फरक–फरक आवश्यकता र अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर सबैलाई चित्तबुझाउनु कम चुनौती पुर्ण छैन । हाम्रो जस्तो छरिएर रहेको ग्रामिण बस्तीहरुमा विकासको पुर्वाधारहरु निर्माण गर्नको लागी स्रोत साधनको अत्यन्तै अपर्याप्तता छ । पुर्वाधार निर्माण संगै दलित, महिला, बालबालिका, शिक्षा, पर्यटन, कृषी, युवा तथा खेलकुद, प्राकृतीक प्रकोप, बेरोजगारी, गरिबी जस्ता बहुआयामिक क्षेत्रमा व्यक्ति, ठाउँ, भुगोल र सामाजीक परिवेशको आधारमा योजना र बजेटको माग हुने गर्दछ । तर, पर्याप्त बजेटको अभावका कारण सबै भेग र क्षेत्र समेट्न असमर्थ हुन्छ । जसका कारण अति आवश्यक काम अधुरा रहने र त्यसलाई पुर्णता दिन नसकिने सम्भवत सबैको साझा समस्या हुन । अर्कोतर्फ देशमा अहिले तिन तहको सरकार बनेको छ । विकास निर्माणको लागी कुन सरकारले कुन योजना हेर्ने भनेर निती तथा मापदण्ड पनी बनेको छ । निती नियम र आवश्यकताको आधारमा भन्दा पनी पहँुचको आधारमा योजना विनीयोजन गर्ने प्रवृत्ती झनै झांगिदै गएको छ । राजनैतिक पुर्वाग्रहका कारण अतिआवश्यक योजनाहरु असफल बनाउने, एउटै योजनाको लागी विभिन्न शक्ति केन्द्रहरुमा निरन्तर धाउनुपर्ने जस्ता प्रवृत्ती संघियता कार्यन्वयन पछिको तिन तहको सरकार बन्दा समेत हट्न सकेको छैन ।

    ५) केन्द्र र प्रदेशको राजनैतिक अस्थिरताको भागीदार

    २०७४ सालमा सम्पन्न स्थानिय तह, प्रदेश र संघीय चुनावबाट तिन तहको सरकार निर्माण गरी नेपालको इतिहासमा पहिलो पटक संघियताको कार्यन्वयन प्रारम्भ भएको हो । केन्द्रमा दुइ तिहाइ सहितको बलियो सरकार गठन संगै प्रदेश सरकार र स्थानिय तहहरु पनी आफ्नो गतीमा अगाडी बढ्दै छन् । केन्द्रमा भएको राजनैतिक उतारचढाव र खिचातानीको बाछीटा क्रमैसंग स्थानिय तहमा आइपुगेको छ । खासगरी सत्ताधारी पार्टीमा देखीएको अन्तरसंघर्षको प्रत्यक्ष असर स्थानिय तहमा समेत परेको छ । वडाहरुमा हरेक सार्वजनिक गतिविधीहरुमा गुट उपगुट र विचार समुहका कारण समर्थन, विरोध हुने र त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्दछ । सामुहिक हित र सार्वजनिक सवालहरुमा पनी त्यसको नेतृत्व र संलग्न पात्रको राजनैतिक विचारको आधारमा सहयोग वा असहयोग गर्ने, जायज नजायज नछुटाइ समर्थन वा विरोध गर्ने राजनितीक संस्कारका कारण कतिपय महत्वपुर्ण परियोजना तथा विषयहरु ओझेलमा पर्ने गरेको छ । राजनैतिक बिचारको विभाजन संगै व्यक्तिको गुण र दोषका आधारमा भन्दा विचारकै आधारमा एकताबद्ध समाजमा समेत विभाजन पैदा गरेको छ ।

    ६) कोरोना र बाढी पहिराे

    अप्रत्यासित रुपमा कोरोना कहरले विश्व नै हायलकायल बनेको छ । हामी पनि यसबाट प्रताडित नै छौँ । कोरोना जस्तो महामारीका कारण लकडाउनले सबै घरमा रहदा जनताको सुरक्षा र राहतको लागी कार्यस्थलमा सबै भन्दा धेरै खटिने र सबै खालको जिम्मेवारीको बहन गर्ने कार्यमा वडा अध्यक्षहरुनै अगाडी देखिए । स्थानिय जनता त्रसित भएको बेला समुदायलाइ सुरक्षीत बनाउने, बिदेशबाट घर फर्किएकाहरुको व्यवस्थापन, कोरोना पोजेटिभ भएका व्यक्तिहरुबाट परिवार र समुदायमा नफैलियोस भनी खेलीएको भुमिकामा वडा अध्यक्षहरुको निकै ठुलो जिम्मेवारी रह्यो । कोरोनाबाट प्रताडित भएको समुदायलाई बर्षातमा आएको बाढी पहिरोले पुनः पिडा माथी पिडा थप्ने काम ग¥यो । शहरी भुभागहरु डुबानमा पर्ने र ग्रमीण भेगहरुमा पहिरो जादा जनधनको क्षती हुनका साथै लामो समय ग्रामीण सडकहरुमा सवारी आवगमन रोकिए । निरन्तर झरीमा रुझ्दै, घामपानी नभनी विपदको बेला जनताको घरदैलोमा पुग्ने प्रतिनिधीको रुपमा पनी वडा अध्यक्ष नै अगाडी रहे ।

    ७)आर्थिक अधिकारबाट बञ्चित

    जनताकाे तमाम विषयमा साक्षात्कार हुने वडा अध्यक्षको आफ्नै समस्या भने अथाह छ । आफुलाइ आवश्यक पर्ने कलम किन्ने अधिकार पनि स्थानीय सरकार सञ्चालन ऐनले वडा अध्यक्षलाइ दिएको छैन । कुनै किसानको गोठमा आगलागी भयो भने वडा अध्यक्षले चाहेर पनी तुरुन्तै राहत उपलब्ध गराउन सक्दैन । आवश्यक प्रमाण र कागजातको जोहो गरेर पालिकाको केन्द्र धाउनुपर्छ । बाढीले किसानको कुलो बगायो भनेपनी पाँच वटा ग्याविन जाली खरिद गरेर दिने अधिकार वडा अध्यक्षलाई छैन । कोही जनता विपन्नताका कारण उपचार गर्न नसकेको अवस्थामा राहत स्वरुप दश हजार रुपैयाँ दिलाउनको लागी पनी आवश्यक कागजातको फाइल बनाएर पालीकाको केन्द्रमा धाइरहनुपर्छ । जिम्मेवारी र कामको चापले निकै महत्वपुर्ण रहेको वडा अध्यक्षलाइ जनताको सानो सानो पिडाहरुमा पनी मलमपट्टी गर्ने अधिकार बाट बन्चीत गराउनु न्यायोचीत छैन ।अन्तमा,
    यी तमाम समस्या र चुनौतिको चाङ हुदाहुदै पनी देश र जनताको सेवामा समर्पीत भएर राजनीतीमा होमिएको हुँदा निस्वार्थ जनताको भलाइमा लाग्नुको विकल्प छैन । सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागी युवाहरु नै जागरुक हुन आवश्यक छ । युवालाइ न थाक्ने छुट छ, न त निरास हुन नै । त्यसैले अब अरुलाइ गाली गरेर होइन आफै विकल्प बनेर उठ्न आवश्यक छ ।
    चर्चित गायक अमृत गुरुङको गीतले भनेझैँ

    हातमा औजार हुनेहरु, औजार लिएर उठ,
    हातमा केही नहुनेहरु , आवाज लिएर उठ
    यो देशको मुहार फेर्नलाइ उठ ।

    (लेखक तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का वडा अध्यक्ष हुनुहुन्छ)