


दमाैली, १० मङ्सिर । व्यास नगरपालिका- ६ स्थित महेन्द्रज्याेति माध्यमिक विद्यालयकाे बाैद्धिक अपाङ्गता स्राेत कक्षामा याेगदान पुर्याउने शारदा गाैली श्रेष्ठ सम्मानित भएकी छन् ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु आवास सहित अध्ययन गर्न विसं २०५५ सालमा स्रोत कक्षाको रुपमा स्थापना भएको हो।
उक्त स्राेत केन्द्रमा श्रेष्ठले २०५६ भाद्र २९ गतेदेखि २०७६ साल माघ १ गतेसम्म आयाको रुपमा काम गरेकी थिइन् । बौद्धिक अपांगता भएका बालबालिकाहरुको रेखदेख, खानपान तथा सरसफाइमा पुर्याएको विशेष योगदानको उच्च मुल्यांकन गरि महेन्द्रज्याेति पूर्व विद्यार्थी मञ्चकाे सक्रियता र अपाङ्गता लेखाजाेखा केन्द्रले उनलाई बुधबार सम्मान गरेकाे हाे ।
वडाध्यक्षमा जीवन गुरुङले व्यासमा रहेका ४ वटा बौद्धिक अपाङ्गता स्रोत कक्षाका सवालमा समायोजन र व्यवस्थापनका सन्दर्भमा छलफल भएर निचोड आएको ठाउँ उपयुक्तताको आधारमा बौद्धिक अपाङ्गता स्रोत कक्षा समायोजनमा सकारात्मक रहेको बताए।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बौद्धिक अपाङ्गता भएका विद्यार्गीसँग २० वर्ष ६ महिना काम गर्दाखेरिको श्रेष्ठको आसा, शक्ति, अनुभवले सहानुभूति प्रदान गरेको कार्यक्षमतामा सुधार ल्याउन थप आत्मबल मिलेको बताए।
पूर्व विद्यार्थी अध्यक्ष भानु चापागाईंले विगत २०७२ सालमा स्थापित मञ्चले विद्यालयका विभिन्न शैक्षिक गतिविधिमा सहयाेग गर्दै आएकाे बताए ।