व्यासले चलाउन सकेन पिसिआर मेसिन, नगरप्रमुख भन्नुहुन्छ : सञ्चालन गर्ने क्षमता भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले चलाउन सकेन पिसिआर मेसिन, नगरप्रमुख भन्नुहुन्छ : सञ्चालन गर्ने क्षमता भएन

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    दुलेगाैडा : गत वर्षको असोजको अन्तिम साता व्यास नगरपालिकालाई रोटरी क्लबले पिसिआर मेसिन उपहार दियो । कोरोना भाइरस सङ्क्रमण फैलिरहेको बेला उपहारमा पाएको मेसिनले पिसिआर परीक्षणमा सहजता हुने तमाम जिल्लावासीको आशा बढ्यो । विस्तारै सङ्क्रमणदर घट्यो । पोखराका प्रयोगशालामा पठाएको स्वाबको रिपोर्ट हप्तौसम्म नआउने समस्या हटेर दुई तीन दिनमा रिपोर्ट आउन थाल्यो । त्यसपछि त व्यासले पाएको पिसिआर मेसिन स्टोरमै थन्कियो ।

    अहिले विश्वभर कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ । तनहुँमा पनि सङ्क्रमणदर दैनिक बढिरहेको अवस्था छ । तैपनि व्यासले पाएको पिसिआर मेसिन सञ्चालनमा आउने छाट देखिन्न । दाताले दिएको पिसिआर मेसिन पाएको आधा वर्ष बित्दा समेत सञ्चालन गर्न नसकेपछि व्यास नगरपालिकाको आलोचना हुन थालेको छ । तर, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तुरुन्तै सञ्चालन गर्न नसकिने बताउनुहुन्छ । मेसिन सञ्चालन व्यासको काबुमा नरहेको न्यौपानेले स्वीकार्नुभयो ।

    “मेसिन जडान गर्न प्रयोगशाला भवन अलग्गै चाहिने । त्यसपछि अहिले हामीसँग भएको जनशक्ति भन्दा अलि उच्चस्तरको जनशक्ति सिफ्टवाइज खटाउनुपर्ने देखियो । एक घण्टा अर्थात् एकपटकमा जम्मा ८ जनाको मात्रै पीसीआर हुनसक्ने भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि ग¥यौ,” न्यौपानेले भन्नुभयो, “जडान गर्दा नै ५० लाखको हाराहारीमा खर्च लाग्ने भएपछि आर्थिक स्रोतको समस्या भयो । मेसिन लिन त लियौँ तर अहिले तुरुन्तै जडान गर्ने क्षमता हामीमा भएन ।”

    बाढी पहिरोका कारण करिब तीन÷चार करोडकै नोक्सानी भएकाले पिसिआर मेसिन सञ्चालन गर्न नसकिएको उहाँले सुनाउनुभयो । जिल्लाका जुनै अस्पतालले लिन चाहे हस्तानतरण गर्न तयार रहेको उहाँको भनाई छ । “दमौली र जिपी अस्पतालसँग पनि कुरा भएको थियो । अस्पतालले पनि लिन मानेन् । पिसिआर गर्नका लागि छुट्टै प्रयोगशाला भवन चाहिन्छ । सुरक्षा व्यवस्था मिलेन भने सङ्क्रमण सर्छ । सञ्चालन खर्च चर्को लाग्ने भएपछि सञ्चालनमा कठिन भएको छ,” न्यौपानेले भन्नुभयो ।

    व्यासले उपहारमा पाएको मेसिन जस्तै प्रयोगविहिन बनेको थियो जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा तनहुँका १० वटै स्थानीय तह मिलेर बनाएको आईसोलेशन भवन । कोरोनाको दोस्रो लहर बढेसँगै यो भवनलाई भने प्रयोगमा ल्याईएको छ । ३० बेडको अक्सिजन सहितको आईसोलेशन कक्ष बनाएको अस्पतालका कोभिड फोकल पर्सन प्रदिप पौडेलले जानकारी दिनुभयो । वैशाख २३ गतेदेखि सङ्क्रमितलाई आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो ।