शुक्लागण्डकी जेसीजले दियो आइसोलेशनलाई अक्सिजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी जेसीजले दियो आइसोलेशनलाई अक्सिजन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगाैडा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको महत्व निकै छ । अक्सिजनको अभावमा कतिपय सङ्क्रमितले ज्यान गुमाउन परेको छ । अक्सिजनको महत्व कति हुन्छ अभावमा ज्यान गुमाएको सङ्क्रमित परिवारका सदस्यको अनुभवले भन्छ ।

    कोरोना सङ्क्रमित कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस् भन्दै शुक्लागण्डकी जेसीजले आइसोलेशनलाई अक्सिजन सहयोग गरेको छ । जिपी कोइाला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनलाई २५ वटा ठूलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उहाँको भनाई छ । पोखरास्थित कालिगण्डकी अक्सिजन प्रालिबाट अक्सिजन भरेर ल्याईएको हो ।

    कोरोनाले मुलुक सङ्कटमा फसेको बेला नियन्त्रणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सक्नेले आर्थिक सहयोग गरौँ । नसक्नेले घरमै बसेर निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सघाउ ।’

    यो समयमा अक्सिजनको ठूलो महत्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । अस्पतालमा रहेको आइसोलेशनलाई सरकारसँगै सामाजिक संघसंस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।

    वैशाख तेस्रो साता अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याउँदा ८ वटा ठूलो र २४ वटा सानो अक्सिजनको सिलिन्डर थियो । डा. श्रेष्ठका अनुसार हाल ४८ वटा ठूलो अक्सिजनका सिलिन्डर थपिएका छन् ।

    दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानीय तह मिलेर बनाईदिएको भवनमा अस्पतालले ३० बेडको आइसोलेशन सञ्चालन ल्याएको छ । प्रत्येक बेडमा अक्सिजनको पाईप जडान गरिएको छ । जिपीको आइसोलेशनमा हालमा २६ जना सङ्क्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका सङ्क्रमितलाई मात्रै यहाँको आइसोलेशनमा राख्ने गरिन्छ ।