तनहुँ : ऋषिङ गाउँपालिका-७ मैदान निवासी मिर्गौला पीडित चेतामाया थापाको उपचारका लागि बेलायतबाट करिब रु तीन लाख जुटेको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाको समन्वय र तनहुँ समाज युकेका सल्लाहकार देवी आलेको संयोजकत्वमा मिर्गौला पीडित थापाको उपचारका लागि रु दुई लाख ९३ हजार एक सय सहयोग जुटेको हो ।
तनहुँ समाज यूकेले सङ्कलन गरी पठाएको उक्त रकम पोखरास्थित बिरामीको डेरामा पुगी हस्तान्तरण गरिएको उपशाखा सभापति इन्द्र आलेले जानकारी दिनुभयो ।
यूकेमा सहयोग जुटाउनका लागि समाजका अध्यक्ष लेख गुरुङ, सल्लाहकार देवी आले लगायतको विशेष भूमिका रहेको थियो ।
मिर्गौला प्रत्यारोपणका लागि पीडित थापाले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । हाल उहॉको पोखरास्थित अस्पतालमा डायलासिस भइरहेको छ ।