आँबुखैरेनी : तनहुँको आँबुखैरेनीमा मर्निङवाल्क ट्रयाक निर्माण हुने भएको छ । आँबुखैरेनी–३ स्थित चिसापानी टोलबाट केही माथि पहरेपानी सामुदायिक वनभित्र गौरी आँपसम्मको स्थानलाई मर्निङवाल्क ट्रयाक बनाउन लागिएको हो ।
आँबुखैरेनी गाउँपालिकाको रु आठ बजेटमार्फत् लायन्स क्लब अफ आँबुखैरेनी सिटीले क्लबको श्रमदान सहित एक किमि दूरीमा मर्निङवाल्क ट्रयाक बनाउन लागेको हो । क्लबका संस्थापक अध्यक्ष लायन रत्नकुमार श्रेष्ठको परिकल्पना र क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो काम गर्न लागिएको क्लवले जनाएको छ ।
चिसापानी टोल–पहरेपानी सामुदायिक वन–गौरी आँपसम्मको स्थान अति सुन्दर शान्त वातावरणमा अवस्थित छ । यहाँबाट आँबुखैरेनी र गोरखा जिल्लाका विभिन्न स्थानहरुको सुन्दर दृश्य देखिन्छ । मर्निङवाल्कका क्रममा आँबुखैरेनीवासीहरु सडक छेउछाउ हिँड्दा दुर्घटनाको जोखिम पनि हुने भएपछि उक्त स्थानमा मर्निङवाल्क ट्रयाक बनाउन लागिएको क्लवका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो । (रामबहादुर धामीकाे सहयाेगमा)