तनहुँ : जिल्लाका सुगम पालिकाहरुले वडास्तरमा आइसोलेशन कक्ष बनाउन नसकिरहेको बेला कछार क्षेत्रको रुपमा परिचित छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन तयार गरिएको छ ।
दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला देवघाट-३ स्थित छिपछिपे इलाका स्वास्थ्य चौकीमा आइसोलेशन बनाइएको हो । स्वास्थ्यचौकीमा पॉच शय्याको आइसोलेशन तयार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बालकृष्ण पराजुलीले जानकारी दिनुभयो ।
सुगम र सुविधा सम्पन्न अस्पतालमा आइसोलेशन शय्या र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला दुर्गम ठाउँमा पूर्व तयारीका लागि आइसोलेशन बनाइनु सकारात्मक रहेको स्थानीय बताउँछन् ।
गाउँपालिकाको सहयोगमा उक्त आइसोलेशन बनाइएको हो । शहरमा भन्दा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएकाले बेलैमा सचेत हुन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।