‘कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्ने विरुद्ध युवा सङ्घ सशक्त भएर लाग्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ‘कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्ने विरुद्ध युवा सङ्घ सशक्त भएर लाग्छ’

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७८, शनिबार

    पोखरा : नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्ने विरुद्ध युवा सङ्घ सशक्त ढङ्गबाट लाग्नुपर्ने बताउनुभएको छ ।

    शुक्रबार सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेश स्तरीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलन सिध्याउन केही सिकारी गहिरो ढङ्गले लागेकाले युवाहरु सशक्त भएर लाग्नुपर्ने बताउनुभयो।

    विपक्षी गठबन्धनको नाउँमा अदालतमा समेत सेटिङ गर्ने र न्यायालयलाई नै अस्तव्यस्त पार्न खोजिएकोले यो बेला सबै चनाखो हुनुपर्ने बस्नेतको भनाई थियो । नेकपा एमाले एक ढिक्का भएर अगाडी बढ्नेतर्फ संकेत गर्दै उहॉले केहि दिनमा नै कार्यदलले सकारात्मक संदेश दिने जानकारी दिनुभयो । कोभिड महामारी र बाढीपहिरोले क्षति पुर्याएका ठाउँमा उद्धार र राहतमा युवा सङ्घले खेलेको भूमिकाको बस्नेतले प्रशंसा गर्नुभयो ।

    राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेशका संयोजक एवम् केन्द्रीय सचिव महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले पार्टी र देशलाई जति बेला संकट पर्दछ, राष्ट्रिय युवा सङ्घ नेपाल सँधै सारथीको रुपमा रहने बताउनुभयो ।

    आगामी केहि दिनमै गण्डकी प्रदेशमा १ लाख वृक्षारोपण गरिने, १०० जना युवालाई तालिम सहित विपत्तिको बेला तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिने उहॉले बताउनुभयो ।

    युवा सङ्घका प्रथम उपाध्यक्ष एवं गण्डकी प्रदेशका इन्चार्ज सन्तोष रावल र क्षितिज थेवेले आगामी रणनीतिको बारेमा र महासचिव रमेश आचार्यले साङ्गठनिक विषयमा जानकारी गराउनुभयो । साथै उपमहासचिव रामजी सापकोटाले कार्यालय व्यवस्थापनको विषयमा प्रष्ट पार्नुभएको थियो।

    युवा सङ्घका गण्डकी अध्यक्ष गुरुङले केहि दिन अघि गण्डकी प्रदेश सरकारका मन्त्री दिपक मनाङेबाट आएको अभिव्यक्ति खेदजनक रहेको भन्दै आगामी दिनमा फेरि यस्ता कार्य दोहोरिएमा युवा सङ्घ चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

    साथै उक्त प्रथम बैठकबाट सङ्घका स्थायी कमिटी सदस्य विकास अधिकारीलाई गण्डकी प्रदेशको कार्यालय व्यवस्थापनको लागि कार्यालय सचिवको रुपमा नियुक्त गरिएको छ।