तनहुँ : बन्दीपुर गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको नाक, कान, घाँटी सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाको आगामी बजेट स्वास्थ्यमा केन्द्रित गरिने बताउनुभयो । उहाँले कोरोना कहरमा स्वास्थ्यकर्मीले गरेको कामको जतिसुकै प्रशंसा गरेपनि कम हुने चर्चा गर्नुभयो ।
गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख अञ्जीर भट्टराईले जानकारी दिनुभयो । डा. बिनोद दुवाडीको प्रशिक्षण रहेको कार्यक्रममा २७ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।