एजेन्सी : युरोकप अन्तर्गत अहिले समुह चरणका अन्तिम खेलहरु हुदै छन् । अहिलेसम्म चार समुहका खेल सकिएका छन् । जसबाट समुहमा पहिलो र दोस्रो हुने ८ टिम नकआउट चरणमा पुगिसकेका छन् ।
नकआउट चरणमा ६ समुहबाट पहिलो र दोस्रो हुने १२ टिम तथा हरेक समुहमा तेस्रो हुने टिम मध्ये उत्कृष्ट चार टिम गरी कुल १६ टिम पुग्ने गर्दछन् ।
यसरी अहिलेसम्म समुह ए बाट इटाली र वेल्स, समुह बी बाट बेल्जियम र डेनमार्क, समुह सी बाट नेदरल्यान्ड्स र अस्ट्रिया तथा समुह डी बाट इङल्याण्ड र क्रोसिया सिधै नकआउट चरणमा पुगेका छन् ।
त्यस्तै अहिलेसम्म समुह ए बाट टर्की, समुह बी बाट रसिया, समुह सी बाट नर्थ मेसेडोनिया र समुह डी बाट स्कटल्याण्ड बाहिरिएका छन् ।
अब दुई समुह इ र एफका अन्तिम चरणका खेल हुन बाँकी छन् ।
अहिलेसम्म समुहमा तेस्रो हुने ६ टिममा सबैभन्दा माथि समुह डी को चेक रिपब्लिक रहेको छ । चेकको ३ खेलमा ४ अंक रहेको छ र गोल अन्तर प्लस एक रहेको छ । र चेक नकआउटमा पुग्ने निश्चित नै देखिएको छ ।
त्यस्तै यस सूचीमा दोस्रो स्थानमा समुह ए को स्वीट्जरल्याण्ड रहेको छ । स्वीट्जरल्याण्डको पनि ३ खेलमा ४ अंक रहेको छ भने गोल अन्तर माइनस १ रहेको छ । अहिलेको समीकरण हेर्दा स्वीट्जरल्याण्ड पनि नकआउटमा पुग्ने निश्चित देखिएको छ ।
त्यस्तै एक खेल खेल्न बाँकी रहेको समुह एफको पोर्चुगल ३ अंकसहित तेस्रो स्थानमा छ भने ३ खेलमा ३ अंक हासिल गरेको समुह सी को युक्रेन गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । त्यस्तै समुह बी को फिनल्याण्डको ३ खेलमा ३ अंक रहेपनि गोल अन्तर माइनस २ रहेकोले पाँचौ स्थानमा छ भने एक खेल कम खेलेको समुह इ को स्पेन २ खेलमा २ अंकसहित छैटौ स्थानमा रहेको छ ।