भौतिक मन्त्रालयः कांग्रेस–माओवादीको तानातान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भौतिक मन्त्रालयः कांग्रेस–माओवादीको तानातान

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    पाेखरा : अर्थ मन्त्रालयमा सत्तारुढ कांग्रेस र जनता समाजवादीको किचलो पछि भौतिक मन्त्रालयका लागि कांग्रेस र माओवादीबीच लडाइँ शुरु भएको छ । कांग्रेसले अर्थमा लडाइँ छाडेर माओवादीले सुरुबाट नै दाबी गरिरहेको भौतिकमा लडाइँ शुरु गरेको हो ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने दिन ४ असारमा जसपा सांसद हरिशरण आचार्यसँग अर्थ मन्त्रालय दिने लगायत ३ बुँदे सहमति गर्नुभएकाे थियाे । तर विश्वासको मत पाएकै दिन कांग्रेसले जसपालाई अर्थ दिन नसकिने बरु रोजेर २ मन्त्रालय दिने बताउँदै सहमति तोड्न खाजेको थियो । सहमति तोडेर कांग्रेसले आफूलाई अर्थ नदिने भनेपछि मन्त्री आचार्यले लगातार विरोध गरिरहनुभयाे ।

    कांग्रेसले लगातार जसपासँग छलफल चलाउँदा पनि आचार्य नगलेपछि भौतिकमा दाबी सुरु गरेको हो । मन्त्री आचार्य कांग्रेसको यो चालले गठबन्धनलाई झन् कमजोर बनाउन लागेको टिप्पणी गर्नुहुन्छ । ‘कांग्रेसले पहिला हामीसँग लडाइँ लड्यो, अहिले अर्थको दाबी छाडेर माओवादीसँग भौतिकको लडाइँ सुरु गरेको छ,’ आचार्यले भन्नुभयाे, ‘उहाँहरु मिले अब समस्या छैन, मन्त्रिपरिषद विस्तार हुन्छ ।’

    माओवादी सांसद दीपक कोइराला पनि कांग्रेसले जसपासँग लडाइँ छाडेर आफूहरुसँग भौतिकका लागि लडाइँ सुरु गरेको बताउनुहुन्छ । माओवादीले सुरुबाट नै अर्थमा दाबी नगरेकाले कांग्रेसले भौतिक माओवादीलाई नै दिनुपर्ने उहाँको तर्क छ । कांग्रेस र माओवादीको संसदमा हैसियत बराबर जस्तै रहेकाले आफूहरुले भौतिकसहित ४ मन्त्रालय पाउनु अधिकार बन्ने कोइरालाले बताउनुभयाे ।

    ‘जसपासँगको सहमति बाहिरिएपछि हामीले अर्थ दाबी गरेनौं, भौतिकमै दाबी गरिरह्यौं,’ कोइराला भन्नुहुन्छ । ‘अहिले कांग्रेसले पनि भौतिक दाबी गर्न थालेको छ, भौतिक हामीलाई दिएमात्रै सरकारले निकास पाउँछ ।’

    ठूला मन्त्रालयमा कांग्रेसले मात्रै दाबी गरेकाले कांग्रेसलाई एकल सरकार बनाएर देखाउन कोइरालाको चुनौती छ । ‘मुख्यमन्त्री पनि चाहिने, सबै ठूला मन्त्रालय पनि चाहिने, एकल सरकार बनाएर देखाए भयो नि त्यसरी त,’ कोइरालाले भन्नुभयाे । आफूहरुले भौतिकसहित ४ मन्त्रालय नपाए सरकारमै सहभागी नहुने कोइरालाले बताउनुभयाे ।

    मुख्यमन्त्री पोखरेल, सरकारका प्रवक्ता कुमार खड्का लगायत कांग्रेस सांसदहरु यति बेला काठमाडौं छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि नामावली टुङ्ग्याउन र अन्य दलसँग पनि सहमति जुटाउन मुख्यमन्त्री मंगलबार काठमाडौं जानुभएकाे थियाे ।

    यता मन्त्री आचार्य भने प्रदेश कमिटीले निर्णय गरिसकेकाले केन्द्रबाट दबाब नआउने र आएपनि आफूहरुे स्वयंम निर्णय लिन सक्ने दाबी गर्नुहुन्छ । । ‘केन्द्रबाट दबाब आउँदैन, आइहालेपनि प्रदेशले आफ्नै निर्णय गरेको छ, हामी आफैं आफ्नो निर्णय लिन सक्छौं,’ उहाँले भन्नुभयाे ।

    यस्तै माओवादी सांसद कोइराला पनि प्रदेशको समिकरणमा माओवादीलाई फकाउन कांग्रेस जहाँ गए पनि काम नबन्ने बताउनुहुन्छ । ‘माथि गएर पनि हुँदैन, तल गएर पनि हुँदैन, हाम्रो दाबी भौतिकसहित ४ मन्त्रालय हो, पाउनुपर्छ,’ कोइरालाले भन्नुभयाे ।

    सरकारका प्रवक्ता कुमार खड्का भने मन्त्रालय रोज्ने अधिकार सुरुमा कांग्रेसलाई रहेकाले आफुहरुले जुन मन्त्रालय रोजेपनि चित्त दुखाउन नहुने बताउनुहुन्छ । कुन मन्त्रालय लिँदा ठिक हुन्छ भन्ने सुझाव दिन सकेपनि मन्त्रालय रोज्नै हुँदैन भनेर किचलो ल्याउनु उचित नहुने खड्काले बताउनुभयाे ।

    मन्त्रालय भागभन्डाको किचलोमा फसेको गण्डकीको सत्तारुढ गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन । दलहरुले ठूला मन्त्रालयमा दाबी गर्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएकाे छैन । (समाधान दैनिकबाट)