दुलेगाैडा : ‘जहाँ ढुंगामा ढुंगामा
देवताको बास छ
जहाँ थुम्का थुम्कामा
स्वर्गको आभास छ’
यी गीतमा समावेश सुन्दर पंक्तिलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीबासीले एक दशकको अवधिममा प्रमाणित गरेर देखाईदिएका छन् । पृथ्वीराजमार्ग नजिकै सेती नदीको किनार । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठ लाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुंगाले भरिएका किनारको स्वरुप एक दशकमा गज्जबले फेरिएको छ । दिउँसै डर लाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याईएको छ । धार्मिक पर्यटनको गतिलो गन्तव्य बनेको छ ।
एक्लै हिड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला गाछेपानीबासीले सायद सोचेका पनि थिएनन् । तर, त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीबासीको एकताले तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले कहलिएको छ । भगवान् शिवजी प्रति आस्थावान भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दु धर्मको मात्र हैन् च्यवनधाम बौद्ध धर्मलम्वीहरुको पनि आस्थाको थलो हो ।
२०६५ सालमा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । ‘यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौ’ मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका सचिव दुर्गादत्त सापकोटा सम्झनुहुन्छ, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण ग¥यो । यहीँको पुन मगर समाजले तारबार लगाए ।’ पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात चिहान त्यही आडैमा थियो ।
जग्गा संरक्षणको दुई बर्षपछि २०६७ सालमा काठमाडौं बस्दै आएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयकाे सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएकाे सुनाउनुभएछ । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिकाे रुपमा चिनिन्थ्यो । ‘गुरुले मुक्तिनाथमा गएर ध्यान बस्दा यहाँको बस्तुस्थिती देखेको सुनाउनुभयो । उहाँले नै तपोभुमी बन्छ भनेपछि हामीले मन्दिरको अवधारणा बनायौँ’, सापकोटाले भन्नुभयाे । त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पुर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए । माघमा यो क्षेत्रलाइ श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो ।
मन्दिर बनाउन कस्एिपछि आर्थिक अभाव भयो । देशभर आर्थिक संकलनका लागी महायज्ञ गर्ने ट्रेन्ड चलेको बेला त्यसैलाई फलो गर्न जुक्ति निक्लियो । पुर्वाधार निर्माणमा आर्थिक संकलन गर्ने उदेश्यले सोही बर्षको चैत १० गतेदेखी १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा १ करोड ५० लाख रुपैयाँ आर्थिक संकलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको हो । ‘महायज्ञमा उठेको रकमले समितिलाई हौसला थप्यो’ एक दशक अगाडीका दिन स्मरण गर्दै सापकोटाले भन्नुभयाे । महायज्ञ लगाएको ६ महिना पछाडी २०६८ कत्तिकमा मन्दिर शिलन्यास गरेपछि पुर्वाधार निर्माणको चरण सुरु भएको हो । अझै पनि निरन्तर चलिरहेको छ ।
च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर छ । मन्दिरको छानो हालसालै तामाले छाइएको छ । शुक्लेश्वरको आसपासमा सुर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिर पनि बनाईएको छ । मन्दिरको अलवा मुक्तीनाथकै झल्को दिने १ सय ८ सह्रसधारा, १ सय ८ ओमकार कल्पवृक्ष, १ सय ८ शिवलिंग, मोक्षकुण्ड, बृद्धाश्रम, पार्क लगायतका संरचना बनाईएको छ । बौद्ध धर्मालम्वीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको सापकोटाले बताउनुभयाे । यहाँ बनार्ईएको गुम्बाले एक अर्काको धर्मलाइ सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उहाँको बुझाई छ ।
मन्दिर क्षेत्रमा एक दशकको अवधिमा ३ करोड रुपैयाँ बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान संकलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । च्यवनधाममा अबको थप्दैै गएपछि अबको एक दशकमा च्यवनधाम आन्तरिक पर्यटकको उत्कृष्ट केन्द्र बन्नेछ’, सापकोटाले ढुक्क हुँदै सुनाउनुभयाे । पूर्वाधार थप गर्न तीनै तहका सरकारसँग सहयोग माग्ने उहाँले बताउनुभयाे । ‘सरकारी निकायबाट सहयोग आईरहेको छ । तर, जति सहयोग आउँछ त्यो भन्दा दोब्बर तेब्बर खर्च हामीले गरेका छौं । स्थानीयको एकता मजबुत छ’ सापकोटाले भन्नुभयाे ।
अब धाम परिसरमा बृहत योजना अनुसार विकास गर्ने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताउनुभयाे । ‘गुम्बाको तलबपट्टि मिनी चिडियाखाना बनाउने योजनामा छ । गण्डकीको तिरको ढिस्कोको माथीपट्टि हनुमानको मुर्ती, त्यसको तलपट्टी शनि देवताको मूर्ति पनि राख्नेछौँ’, उहाँले भन्नुभयाे ।
च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुदर्शी र शिवरात्रीमा भक्तजनको बढि घुईचो लाग्दछ । प्रत्येक वर्ष साउन महिनामा शिवपुराण लगाउने गरिएकाे छ । साउनमा प्रत्येक सोमबार र शिवरात्री पर्वको बेला यहाँ दैनिक ५ हजार बढीले भक्तजनले दर्शन गर्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पुजा अर्चना गरेपछि सन्तान नभएकालाइ सन्तान प्राप्ती हुने जनविश्वास रहेको छ ।
यो वर्ष गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख रुपैयाँ खर्च गरी यहाँ रहेको १ सय ८ धाराको माथिपट्टि कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिकी सह–सचिव अस्मिता खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कृत्रिम हिमालले आन्तरिक पर्यटकमा बृद्वि हुने लक्षण देखाइसकेको छ ।’
यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरवाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेको उहाँको भनाई छ । ढोरबारही र च्यवनधामलाई जोडेर प्रचार गर्न सके दैनिक हजारौँ धार्मिक पर्यटक भित्र्याउन सकिनेमा खनाल विश्वस्त हुनुहुन्छ ।
मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती विन्दु हो । सन् २००० देखि शुरु भएको तनहुँ र स्याङजालाई जोड्ने ७२ किलोमिटर दुरीको मिलेनियम ट्रेक यहीबाट सुरु हुने भएकाले पनि पर्यटननमा यथेष्ट सम्भावना छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहाबले कुँदेर बनाएको प्राकृतिक ढुंगे बगैँचाले हरकोहिलाई लोभ्याउन सक्छ । च्यवनधाम र ढुंगे बगैचामा म्युजिक भिडियो छायांकन गर्ने लहर बढेको छ हिजोआज ।
च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीयवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङ बताउनुहुन्छ । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले बर्षेनी बजेटको व्यवस्था गर्ने गरेको उहाँले जनाउनुभयाे । ‘पूर्वाधार बनेपछि प्रचारप्रसारमा जोड दिन्छौँ’, उहाँले भन्नुभयाे, ‘वरपरका गन्तव्यसंगै मुक्तिनाथ पुग्ने पर्यटकलाई च्यवनधाममा आउने वातावरण बनाउनेछौँ ।’