काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताउनुभएकाे छ । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उहाँको आरोप छ ।
बालुवाटारमा साेमबार आयोजित एक कार्यक्रममा ओलीले भन्नुभयाे ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’
ओलीले अगाडि थप्नुभयाे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’
प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिनुभयाे । उहाँले भन्नुभयाे, ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।’