म्याग्दे : विभिन्न माग राख्दै शिक्षकहरुले म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ३८ बुँदे माग राख्दै शिक्षकहरुले गाउँपालिकाकी अध्यक्ष रानालाई आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल शिक्षक महासङ्घ म्याग्देका अध्यक्ष अशोकचन्द्र वाग्लेले बुझाउनुभएको ज्ञापनपत्रमा दरबन्दी मिलानका नाममा कुनै पनि शिक्षकलाई सरुवा गर्ने कार्य अगाडी नबढाउन, आगामी वर्षको बजेटमा उल्लेख भए अनुसार बालविकास शिक्षिका र विद्यालय कर्मचारीको तलब न्यूनतम रु १५ पुग्ने गरी थप गर्न माग गरिएको छ ।
कोरोनाको विषम् परिस्थितिमा वैकल्पिक सिकाईलाई अगाडी बढाउन आवश्यक पर्ने इन्टरनेट, निःशुल्क सिम, स्मार्ट टिभी, कम्प्युटर जस्ता सञ्चारका साधनहरु यथाशीघ्र उपलब्ध गराउन, आगामी वर्षको बजेटमा शिक्षकलाई वञ्चित गरिएको रु दश लाखको सामूहिक बीमा र एक लाखको स्वास्थ्य बीमा साथै दश दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काजको व्यवस्था मिलाउन माग गरिएको छ ।
कतिपय मागहरु सङ्घीय सरकारसँग सम्बन्धित रहेकाले केन्द्रमा पठाइदिन वाग्लेले आग्रह गर्नुभयो । कतिपय मागहरु भने पालिकास्तरको निर्णयबाट सम्भव रहेको उहाँको भनाई थियो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाकी अध्यक्ष रानाले शिक्षकहरुको मागमा आफूहरु सकारात्मक रहेकाले पालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।